रचिन र विलियम्सनको शतकसँगै दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डको गतिलो सुरुआत - Chaitanya News
  • 2026-06-07
  • 16:50:51
  • आइतबार,जेठ २४, २०८३
  • रचिन र विलियम्सनको शतकसँगै दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डको गतिलो सुरुआत

    रचिन र विलियम्सनको शतकसँगै दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डको गतिलो सुरुआत

    काठमाडौँ– दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन आइतबार घरेलु टोली न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर दुई सय ५८ रन बनाएको छ। पहिलो दिन ८६ ओभर खेल भएको थियो।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि केन विलियम्सन र रचिन रविन्द्रले उत्कृष्ट ब्याटिङ गरे। यी दुवै ब्याट्सम्यान शतक बनाउँदै क्रिजमा छन्। केवल ३९ रनमा दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र रचिनले नै अगाडि बढाएका थिए।

    पहिलो दिनको खेल सकिँदा विलियम्सन अविजित एक सय १२ र रचिन अविजित एक सय १८ रन बनाउँदै क्रिजमा छन्। तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले दुई सय ५९ बलको सामना गरी १५ चौका हिर्काएका छन्। ३३ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३०औँ शतक हो। टेस्ट क्रिकेटमा उनले बनाएको उच्च स्कोर भने दुई सय ५१ रन हो।

    यसैगरी चौथो नम्बरका ब्याट्सम्यान रचिनले पनि दुई सय ११ बलको सामना गरी एक छक्का र १३ वटा चौका हिर्काएका छन्। २४ वर्षीय युवा खेलाडी रचिनले भने टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक हो। यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रन थियो।

    त्यसअघि न्युजिल्यान्डका ओपनर टम लाथम २० र डेभोन कनवे एक रन बनाउँदै पेभेलियन फर्किएका थिए। पहिलो दिन न्युजिल्यान्डले सात रन अतिरिक्त रुपमा पाएको छ। दक्षिण अफ्रिकाका बलर सेपो मोरेकी र डेन प्याटरसनले एक–एक विकेट लिए। न्युजिल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले घरेलु टोलीसँग दुईवटा टेस्ट खेल्ने कार्यक्रम छ।