काठमाडौँ– विश्व फुटबल महासंघ (फिफा) ले ब्राजिल फुटबल महासंघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फिफाले ब्राजिललाई निकट भविष्यमा आयोजना हुने कोपा अमेरिका फुटबल र आगामी विश्वकप फुटबल समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाउने चेतावनी दिएको हो।
ब्राजिलियन फुटबल समर्थकका लागि यो ज्यादै निराशाजनक समाचार हो। ब्राजिलियन फुटबल संघको निर्वाचनको विषयलाई लिएर विवाद सुरु भएपछि फिफाले यस्तो चेतावनी दिएको समाचारमा जनाइएको छ।
फिफाले ब्राजिललाई पटक–पटक महासंघको निष्पक्ष निर्वाचन गराउन निर्देशन दिँदै आएको छ। तर, ब्राजिल फुटबल महासंघले भने फिफाको निर्देशनलाई बेवास्ता गर्दै आएको छ। खासगरी फिफाले ब्राजिल फुटबल महासंघका वर्तमान अध्यक्ष एडनाल्डो रोड्रिग्वेजको विकल्प खोज्नका लागि नयाँ निर्वाचनको निर्देशन दिएको हो।
ब्राजिल फुटबल महासंघका वर्तमान अध्यक्ष रोड्रिग्वेज राजनीतिज्ञ पनि हुन्। पछिल्लो समयमा अध्यक्ष रोड्रिग्वेजका गतिविधि र उनले ब्राजिल फुटबल महासंघको निर्देशकसहित विभिन्न पदमा गरेको नियुक्तको व्यापक विरोध हुँदै आएको छ।
हालै ब्राजिलको रियो अदालतले रोड्रिग्वेज र उनले नियुक्त गरेको निर्देशकहरुलाई पदबाट बर्खास्त गर्ने निर्णय सुनाएको थियो। अदालतको आदेशपछि रोड्रिग्वेजले महासंघको नयाँ निर्वाचन गराउन जोसे पेर्डिजलाई नियुक्त गर्ने प्रयास गरेका थिए।
रोड्रिग्वेजको उक्त कदमको पनि व्यापक विरोध भएको थियो। ब्राजिल फुटबल महासंघको निर्वाचनका क्रममा कानुन विपरितका गतिविधिहरू भएको आरोप लागेपछि अध्यक्ष रोड्रिग्वेज विवादमा तानिएका हुन्। त्यसैले फिफाले यथाशीघ्र कानुनसम्मत तरिकाले नयाँ निर्वाचन सम्पन्न नगरे ब्राजिल फुटबल महासंघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो।