प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीको लगातार दोस्रो जित - Chaitanya News
  • 2026-06-07
  • 17:52:15
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीको लगातार दोस्रो जित

    प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीको लगातार दोस्रो जित

    काठमाडौं– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो।

    कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको योगदान गरे। अप्सरी आउट भए पनि काजल नट आउट रहिन्।

    टिमलाई जितका लागि २ रन चाहिएको अवस्थामा १९ औं ओभरको पहिलो बलमा बागमतीकी कप्तान अस्मिना कर्मचार्यलाई छक्का प्रहार गर्दै काजोलले कोशीलाई जित दिलाएकी हुन्।

    ४ रन बनाउँदा ओपनर रुबिना क्षेत्रीलाई गुमाएको कोशीका यी २ ले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए।

    १८ औं ओभरको अन्तिम बलमा अप्सरी बेगम क्याच आउट भइन्। अप्सरीले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्।

    बागमतीका संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए।

    यसअघि पहिला ब्याटिङ गरेको बागमतीले २० ‌ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। बागमतीका यशोदा विष्टले ४१ र अस्मिना कर्मचार्यले २४ रन बनाएका थिए।

    कोशीका सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए।

    कोशीले हिजो बिहीबार आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो।