काठमाडौं– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो।
जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनायो।
बागमतीका पूजा महतोले ३५ तथा अनुराधा चौधरीले २१ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
काठमाडौंकी अस्मिना कर्मचार्यले २ तथा मनिषा उपाध्यायले १ विकेट लिइन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनाएको थियो। बागमतीका लागि नट आउट रहेका यशोदा विष्टले ४७ र कप्तान अस्मिनाले ३० रन बनाए।
४५ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा परेको बागमतीलाई ११७ रनको योगफलसम्म पुर्याउन यशोदा र अस्मिनाले पाँचौ विकेटका लागि नट आउट ७२ रनको साझेदारी गरेका थिए।
मधेसका लागि पूजाले २ तथा कविता गौतमले १ विकेट लिइन्।
काठमाडौंमा आजदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोली सहभागी छन्।
पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने छ।
यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो।