विश्वकप जितेको खबर कार्मोनाले बुवालाई सुनाउन पाइनन् - Chaitanya News
  • 2026-06-08
  • 01:00:07
  • आइतबार,जेठ २४, २०८३
  • विश्वकप जितेको खबर कार्मोनाले बुवालाई सुनाउन पाइनन्

    विश्वकप जितेको खबर कार्मोनाले बुवालाई सुनाउन पाइनन्

     

    एजेन्सी । स्पेनलाई उपाधि सुम्पिँदै नवौं फिफा महिला विश्वकप फुटबलको मैजारो भएको छ । गत आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा भएको फाइनल खेलमा स्पेनले इङ्ल्यान्डलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

    स्पेनलाई उपाधि जिताउन २३ वर्षीया ओल्गा कार्मोनाले २९औं मिनेटमा गोल गरेकी थिइन् । टोलीको कप्तानसमेत रहेकी ओल्गाको निर्णायक गोलले स्पेन पहिलो पटक विश्वकप च्याम्पियन बन्दा मैदानमा उनको खुशीको सीमा थिएन ।

    तर, गोल र उपाधिले सिङ्गो विश्वलाई चकित बनाएकी ओल्गाको खुसी निमेषभरमै सकियो । स्पेनले महिला विश्वकप फुटबलको उपाधि चुमेपछि ओल्गालाई दुःखद समाचार सुनाइयो । जुन समाचार उनको पिताको निधनको थियो ।

    ओल्गाका पिता जोस भर्डास्को लामो समयदेखि बिरामी थिए । जोसको मृत्यु विश्वकप फाइनलको तीन दिनअघि अर्थात् शुक्रबार नै भएको थियो । तर पिताको मृत्युको खबर ओल्गालाई सुनाइएको थिएन ।

    स्पेनले पहिलो पटक विश्वकप चुमेपछि मात्र ओल्गालाई पिता जोसको निधनको अप्रिय खबर सुनाइयो ।
    स्पेनिस टोलीको व्यवस्थापनले पिताको निधनको खबर ओल्गालाई सुनाउँदा खेल बिग्रने ठानेर परिवारको सहमतिमै उहाँलाई पिताको खबर बारे जानकारी नदिइएको बताइएको छ ।