दमौली– तनहुँ यातायात व्यवस्था कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। विसं २०७८ फागुन २७ गते स्थापना भएको थियो।
दरबन्दीअनुसारका कर्मचारीको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको कार्यालयका निमित्त प्रमुख कुशल सुवेदीले बताए। सुवेदीका अनुसार दरबन्दीअनुसारको कर्मचारी अभावमा कार्यालय सहयोगीलाई राजस्वको जिम्मा दिइएको छ। उनले भने, “ट्रायल, लिखित परीक्षा र कार्यालयको कामकाज सञ्चालन पनि उत्तिकै गाह्रो भइरहेको छ।
कार्यालयले आव २०७९–८० मा रु १८ करोड ७५ लाख ६४ हजार सात सय १७ राजस्व सङ्कलन गरेको छ। आव २०७८–७९ मा कार्यालयले रु १३ करोड ८४ लाख २१ हजार तीन सय ५६ राजस्व सङ्कलन गरेको थियो। आव २०७९–८० मा सवारी चालक अनुमति पत्रको ट्रायल सुरु गरिएपछि राजस्व केही बढेको हो।
पन्ध्र स्थायी र दुई अस्थायी गरी १७ जनाको दरबन्दी रहेकामा कार्यालयमा पाँच स्थायी र छ करार गरी ११ कर्मचारी कार्यरत छन्। कार्यालयमा राजपत्राङ्कित तृतीय एक, अधिकृतस्तर छैटौँ दुई, सहायक स्तर पाँचौँ एक, सहायक पाँचौँ (करार) तीन, कार्यालय सहयोगी एक, हलुका सवारी चालक एक तथा श्रेणीविहीन र ज्यालादारीमा एक–एक कर्मचारी छन्।
कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमति पत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो। त्यसअघि ट्रायलका लागि पोखरा जानुपर्थ्यो। जिल्लाबाटै ट्रायल सेवा सुरुभएपछि सेवाग्राहीलाई सहज भएको छ।
कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)नवीकरण सुरु गरेको थियो। कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ।