चालु आव सकिन ४५ दिन मात्र बाँकी रहँदा पूँजीगत खर्च ३६ प्रतिशत मात्र - Chaitanya News
  • 2026-06-17
  • 09:36:34
  • बुधबार,आषाढ ०३, २०८३
  • चालु आव सकिन ४५ दिन मात्र बाँकी रहँदा पूँजीगत खर्च ३६ प्रतिशत मात्र

    चालु आव सकिन ४५ दिन मात्र बाँकी रहँदा पूँजीगत खर्च ३६ प्रतिशत मात्र

    काठमाडौं– आव सकिन ४५ दिन मात्र बाँकी रहँदा पूँजीगत खर्च ३६ प्रतिशत मात्रै पुगेको छ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म पूँजीगत खर्च १ खर्ब ३६ अर्ब ८३ करोड ८ लाख रुपैयाँ मात्र भएको छ। यस आर्थिक वर्षमा सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट पूँजीगत खर्च गर्ने गरी लक्ष्य राखेको थियो।

    आइतबारसम्म भएको पूँजीगत बजेट खर्च ३५.९७ प्रतिशत हो। सरकारले बजेटको लक्ष्य भेट्टाउन बाँकी ४५ दिनमा २ खर्ब ४३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ खर्च गर्नुपर्छ। यसअनुसार अब दैनिक ५ अर्ब ४१ करोड २३ लाख रुपैयाँ पूँजीगत बजेट खर्च गर्नुपर्छ।

    सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दैछ। नयाँ बजेट १ साउनदेखि कार्यान्वयनमा आउनेछ।

    चालु खर्च भने सामान्य

    आइतबारसम्म सरकारले चालु प्रकृतिको बजेट ८ खर्ब २३ अर्ब ५५ करोड रुपैयाँ खर्च गरिसकेको छ । यो यस आवमा लिइएको लक्ष्यको ६९.६ प्रतिशत हो।

    यस आवमा सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबर चालु बजेट खर्चको लक्ष्य लिएको छ। बाँकी ४५ दिनको अवधिमा सरकारले ३ खर्ब ५९ अर्ब ६७ करोड रुपैयाँ पूँजीगत खर्च गरिसक्नुपर्छ। जस अनुसार सरकारले यस अवधिमा दैनिक ७ अर्ब ९९ करोड २८ लाख रुपैयाँ चालु बजेट खर्च गरिसक्नु पर्छ।

    वित्तीय व्यवस्थातर्फ सरकारले आइतबारसम्म १ खर्ब ४१ अर्ब रुपैयाँ बजेट खर्च गरिसकेको छ। यो लक्ष्यको ६१।३२ प्रतिशत हो। यस आवमा सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ वित्तीय व्यवस्थाका लागि विनियोजन भएको छ।

    राजस्व संकलन लक्ष्यभन्दा धेरै कम

    चालु आर्थिक वर्षमा राजस्व संकलन भने लक्ष्य भन्दा धेरै कम भएको छ। चालु आवमा सरकारले राजस्व संकलनको लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राखेको छ। तर, आइतबारसम्म संकलन भने मात्र ७ खर्ब ८८ अर्ब ४३ करोड रुपैयाँ भएको छ। यो लक्ष्यको ५६.१९ प्रतिशत मात्र हो। लक्ष्य भेटाउन बाँकी ४५ दिनको अवधिमा सरकारले ६ खर्ब १४ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गर्नुपर्छ। यस अनुसार अब दैनिक १३ अर्ब ६६ करोड रुपैयाँ राजस्व उठ्नु पर्छ।