काठमाडौं- कमजोर अर्थतन्त्र र कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि अपनाउँदा आगामी पाँच वर्षमा विश्वव्यापी रोजगार क्षेत्रले ठूलो समस्या सामना गर्ने देखिएको छ।
विश्व आर्थिक फोरम (डब्लूईएफ) मा आइतबार सार्वजनिक ८०० भन्दा बढी कम्पनीहरूको सर्वेक्षणमा आधारित रिपोर्टले यस्तो देखाएको हो।
प्रत्येक वर्ष स्विट्जरल्याण्डको डाभोसमा विश्वभरका लिडरहरू आर्थिक गतिविधिको विश्लेषणका लागि भेला हुने गर्छन्।रिपोर्टले सन् २०२७ सम्म विश्वबजारमा ६ करोड ९० लाख नयाँ रोजगारी सिर्जना हुने र आठ करोड ३० लाख पद हट्ने ठानिएको छ।
रिपोर्टले हालको रोजगारीको दुई प्रतिशत बराबर अर्थात् एक करोड ४० लाख रोजगारी गुम्ने देखाएको छ। यो धेरै कारकहरूमा निर्भर रहने रिपोर्टमा जनाइएको छ।
खासगरी नवीकरणीय ऊर्जा प्रणालीको परिवर्तनले रोजगारी सृजना गर्ने र सुस्त आर्थिक वृद्धि एवं उच्च मुद्रास्फीतिले कटौती गर्ने रिपोर्टमा उल्लेख छ।
आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को प्रयोगले सकारात्मक र नकारात्मक दुवै शक्तिको रूपमा काम गर्ने ठानिएको छ।
कम्पनीहरूले एआई उपकरणमाथि काम गर्ने कामदारहरू राख्नेछन्। डाटा एनालिस्ट एवं साइन्टिस्ट, मेसिन लर्निङ विज्ञ र साइबर सुरक्षा विज्ञहरूको रोजगारी सन् २०२७ सम्ममा औसतमा ३० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।
कृत्रिम बुद्धिमत्ताको महत्वपूर्ण भूमिका बढ्दै जाँदा सन् २०२७ सम्ममा रेकर्ड राख्ने र प्रशासनिक रोजगारी दुई करोड ६० लाखले कम हुने। अहिले नै पनि बिजनेस क्षेत्रको ३४ प्रतिशत काम एआई एवं मेसिनले गर्न थालेको डब्लूईएफले जनाएको छ। सीएनएन