काठमाडौं महानगरले भत्काएको टुकुचा खोलाको गुम्बजमा बैंकले गर्‍यो ढलान - Chaitanya News
  • 2026-05-02
  • 00:26:42
  • शुक्रबार,बैशाख १८, २०८३
  • काठमाडौं महानगरले भत्काएको टुकुचा खोलाको गुम्बजमा बैंकले गर्‍यो ढलान

    काठमाडौं महानगरले भत्काएको टुकुचा खोलाको गुम्बजमा बैंकले गर्‍यो ढलान

    काठमाडौं– काठमाडौं महानगरपालिकाले खनेर भत्काएको टुकुचा खोलाको भूमिगत संरचना (गुम्बज)मा जथाभावी ढंगले कंक्रिट ढलान भएको पाइएको छ काठमाडौं महानगरपालिका–१, हात्तिसारस्थित सिद्धार्थ बैंकको पार्किङ स्थलमा महानगरले भ्वाङ पारेको गुम्बजमा बैंकले ढलान गरेको छ।

    पार्किङ गर्ने ठाउँको अभाव हुनका साथै दुर्गन्ध फैलिएकोले समाधानको लागि पटक–पटक अनुरोध गर्दा महानगरपालिकाले ‘पुरिदिए हुन्छ’ भन्ने जवाफ दिएपछि गुम्बजमा ढलान गरेको बैंकका एक कर्मचारीले बताए। ढलानलाई माटोले पुरेर सवारीहरु पार्किङ भइरहेको छ।

    महानगरका मेयर बालेन्द्र साह (बालेन) ले ‘उत्खनन्’ गरेर छाडेपछि टुकुचा खोलाको १३० वर्ष पुरानो (पुरातत्व विभाको प्रतिवेदन अनुसार)भूमिगत संरचनामा जथाभावी हुन थालेको छ। मेयरको सचिवालयले ‘यो विषयमा बुझ्नुपर्छ’ भन्दै जवाफ दिन चाहेन।

    महानगरका प्रवक्ता नविन मानन्धर टुकुचाको पछिल्लो अवस्थाबारे आफूलाई जानकारी नभएको बताउँछन्। उनले महानगरको बजेटबाहेक अन्यत्रबाट सम्पदा चलाउन नै नपाइने पनि बताए।

    १ नम्बर वडाका अध्यक्ष भरतलाल श्रेष्ठले पनि टुकुचा खोलाको सुरुङमाथि बैंकले पार्किङ बनाएको जानकारी नभएको बताए। ‘टुकुचामा खन्ने काम पनि महानगरको केन्द्रीय कार्यालयबाटै भएको थियो’, उनले भने, ‘अहिले पनि त्यहाँ के भइरहेको छ, हामीलाई खासै थाहा छैन।’

    पुरातत्व विभागका प्रवक्ता राम कुँवरले उच्च अदालतको आदेशपछि टुकुचाको विषयमा महानगरपालिकासँग सम्पर्क नभएको बताए। ‘गुम्बजलाई असर पार्ने गरी कंक्रिट ढलान भएको पनि थाह थिएन, भोलि नै गएर हेर्छौं’, उनले भने।

    महानगरको अकर्मण्यता

    सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारी महानगरपालिकाले सम्पदालाई खेलाँचीको बिषय मान्दा यो अवस्था आएको बताउँछन्।

    ‘उच्च अदालतले आदेश दिंदा पनि काठमाडौं महानगरपालिले गल्ती नसच्याइ असरल्ल पारेर छोडिदिंदा सम्पदामा जथाभावी हुन थालेको छ’, उनी भन्छन्, ‘यो अवस्था आउनमा महानगरपालिकाको नेतृत्वको अकर्मण्यता जिम्मेवार छ।’

    अधिकारीको बुझाइमा, महानगरले विनाअध्ययन टुकुचामा डोजर चलाउनै हुँदैनथ्यो। डोजर चलाएपछि पनि पुरातत्व विभागको निर्देशन र अदालतको आदेश पालन गर्नुपर्थ्यो। ‘यसमा महानगरले कमजोरी गरेकै छ’, उनले भने, ‘महानगरवासी र सम्पदा प्रेमीहरुबाट यो कार्यको विरोध हुनेछ।’