काठमाडौ– नेकपा (एमाले) बाट राष्ट्रपति उम्मेदवार सुभाषचन्द्र नेम्वाङले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणालाई भेटेर राष्ट्रपतिमा मत मागेका छन्। भेटमा देउवा दम्पतीले सकारात्मक जवाफ दिएको नेम्वाङले दाबी गरेका छन्।
‘उहाँ पनि सकारात्मक नै हुनुहुन्छ। देउवाले पनि राष्ट्रपतिमा उपयुक्त पात्र भएको पनि बताउनुभयो,’ भेटको विषयमा बोल्दै उनले भने, ‘जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्नेमा उहाँ पनि सहमत हुनुहुन्छ।’
सोमबार पार्टी मुख्यालय च्यासलमा सांसद्हरूलाई प्रशिक्षण दिने कार्यक्रममा नेम्वाङले सो जानकारी गराएका हुन्। सो क्रममा उनले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा हुने बताए।
प्रशिक्षण दिने कार्यक्रममा उनले भने, ‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु। तपाईंहरुको शीर निहुरिने काम हुन दिन्नँ । संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ।’