चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 17 of 1113
  • 2026-10-12
  • 22:38:59
  • सोमबार,आश्विन २६, २०८३

About Author

बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीका परिवारलाई सहजीकरण गर्न कार्यदल गठन गरिने

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न निर्देशन दिएका छन्। बिहीबार अर्थ मन्त्रालयमा पीडित परिवारसँगको सामूहिक भेटमा मन्त्री वाग्लेले शिक्षा, भरणपोषण र रोजगारीसँग सम्बन्धित आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग अघि बढाउने बताएका हुन्। रसुवा भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारीका परिवारले भेटका क्रममा आफ्ना समस्या तथा प्रारम्भिक मागपत्र मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। त्यस क्रममा मन्त्री वाग्लेले कानुनबमोजिम सम्बोधन गर्न सकिने माग तत्काल अघि बढाउने र कानुन संशोधन आवश्यक पर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाए। राजस्व संकलनको जिम्मेवारी लिएर कार्यक्षेत्रमा खटिएका कर्मचारीलाई अकल्पनीय विपत्तिमा गुमाउनुपर्दा मन्त्रालय र भन्सार प्रशासनसमेत पीडामा रहेको उनले बताए। “तपाईंहरू एक्लो हुनुहुन्न। हामी तपाईंहरूको साथमा छौँ,” मन्त्री वाग्लेले भने। उनले पीडित परिवारका सदस्यलाई आफ्ना समस्या मन्त्रालय र भन्सार विभागमा खुलस्त रूपमा राख्न आग्रह गरे। परिवारले भोगेको अपूरणीय क्षतिको पूर्ति सम्भव नभए पनि उनीहरूको दैनिकी र भविष्य सहज बनाउन सहयोगलाई उच्च प्राथमिकता दिने उनको भनाइ थियो। घटना दर्ता तथा बालबालिकाको छात्रवृत्तिलगायत विषयमा मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री वाग्लेले जानकारी दिए। बेपत्ता कर्मचारीको खोजीमा सुरक्षाकर्मी अझै परिचालन भइरहेको उल्लेख गर्दै उनले परिवारको सहजीकरणका लागि कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशन दिएका हुन्। भेटमा परिवारका सदस्यहरूले घरपरिवारको मुख्य सहारा गुमाएपछि तथा आफन्त बेपत्ता भएपछि भोग्नुपरेका समस्या र कठिनाइबारे मन्त्रीसमक्ष जानकारी गराएका थिए। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परेका थिए। उनीहरूमध्ये भन्सार अधिकृत नकुल शर्माको शव फेला परेपछि अन्तिम संस्कार गरिएको छ। बाँकी १४ जना अझै बेपत्ता छन्।

News by बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीका परिवारलाई सहजीकरण गर्न कार्यदल गठन गरिने :