चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-22
  • 09:49:04
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपालको क्रिकेट इतिहासमा आज अर्को कोशेढुङ्गा, यूएईविरुद्ध १००औँ ओडीआई खेल्दै

काठमाडौँ — नेपाली क्रिकेटका लागि आजको दिन ऐतिहासिक बन्ने भएको छ। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा आफ्नो १००औँ खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आइतबार यूएईसँग प्रतिस्पर्धा गर्दा नेपालले ओडीआई यात्राको अर्को महत्वपूर्ण कोशेढुङ्गा पार गर्नेछ। सन् २०१८ मा ओडीआई मान्यता प्राप्त गरेपछि नेपालले पहिलोपटक अगस्ट १ मा नेदरल्यान्ड्ससँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो। पहिलो खेलमा नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमै समेटिएको थियो। तर, पहिलो खेलको निराशालाई नेपालले लामो समय टिक्न दिएन। त्यसको दुई दिनपछि अगस्ट ३ मा भएको दोस्रो ओडीआईमै नेपालले नेदरल्यान्ड्सलाई एक रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको थियो। अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक रहेको अवस्थामा तत्कालीन कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई अविस्मरणीय जित दिलाएका थिए। नेपालले अहिलेसम्म खेलेका ९९ ओडीआईमध्ये ४९ खेलमा जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन। नेपालको ओडीआई यात्रामा यूएई सबैभन्दा बढी प्रतिस्पर्धा गरेको प्रतिद्वन्द्वी हो। दुई टोलीबीच अहिलेसम्म २० खेल भएका छन्। जसमा नेपालले १२ खेल जित्दा आठ खेलमा पराजय बेहोरेको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै व्यहोरेको छ। नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै एसिया कपमा स्थान बनाएको थियो। अब १००औँ ओडीआईमा पनि नेपालका लागि यूएई नै प्रतिद्वन्द्वी बनेको छ। ऐतिहासिक खेलमा जित निकाल्न सके नेपालले ओडीआई यात्राको ५०औँ जित पूरा गर्नेछ। त्यसैले आजको खेल नेपालका लागि शतक खेलको उत्सव मात्र नभई जितको अर्धशतक पूरा गर्ने अवसरसमेत बनेको छ।

News by नेपालको क्रिकेट इतिहासमा आज अर्को कोशेढुङ्गा, यूएईविरुद्ध १००औँ ओडीआई खेल्दै :