चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-22
  • 09:18:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पहिलो विदेश भ्रमणमा भारत जाँदै प्रधानमन्त्री शाह, द्विपक्षीय सम्बन्ध विस्तारमा जोड

काठमाडौँ — नेपाल–भारतबीच आर्थिक तथा पूर्वाधार सहकार्य विस्तार गर्ने एजेन्डासहित प्रधानमन्त्री बालेन्द्र शाह आज आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणमा व्यापार, पारवहन, ऊर्जा, लगानी र सम्पर्क सञ्जाल विस्तारका विषय प्रमुख प्राथमिकतामा रहने भएका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आजै प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने तथा आर्थिक सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। सोही दिन उनले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम पनि रहेको छ। भ्रमणका अवसरमा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यासँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गरिने कार्यक्रम छ। व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा दुई देशबीचको कनेक्टिभिटी विस्तारलाई वार्तामा विशेष प्राथमिकता दिइनेछ। त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य बढाउने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको कार्यक्रमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा उनले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा उपलब्ध लगानीका अवसर, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले अघि सारेका नीति तथा विदेशी लगानी आकर्षित गर्न गरिएका प्रयासबारे जानकारी गराउनेछन्। कार्यक्रममा भारतीय व्यवसायीका चासो र सरोकारसमेत सुन्ने तथा नेपाली र भारतीय व्यवसायीबीच व्यापारिक साझेदारी र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिनेछ। प्रधानमन्त्री शाहको नेतृत्वमा भारत जाने प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्। दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।

News by पहिलो विदेश भ्रमणमा भारत जाँदै प्रधानमन्त्री शाह, द्विपक्षीय सम्बन्ध विस्तारमा जोड :