सफल हुन धेरै घण्टा होइन, सही तरिकाले पढ्नुपर्छ : पुष्पराज सन्ज्याल - Chaitanya News
  • 2026-10-09
  • 15:21:37
  • शुक्रबार,आश्विन २३, २०८३
  • सफल हुन धेरै घण्टा होइन, सही तरिकाले पढ्नुपर्छ : पुष्पराज सन्ज्याल

    सफल हुन धेरै घण्टा होइन, सही तरिकाले पढ्नुपर्छ : पुष्पराज सन्ज्याल

    ‘पढ्ने भनेको जागिरका लागि होइन, गजबका लागि हो।’ शिक्षालाई केवल रोजगारी र प्रमाणपत्रसँग जोड्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै रसायनशास्त्रका प्राध्यापक,तथा सामान्य ज्ञान प्रशिक्षक पुष्पराज सन्ज्याल अध्ययनलाई आफू र संसार बुझ्ने माध्यमका रूपमा व्याख्या गर्छन्। चैतन्य खबरको ‘चैतन्य संवाद’मा कुराकानी गर्दै उनले विद्यार्थी सफल हुन धेरै घण्टा किताब अगाडि बस्नुभन्दा सही अध्ययन शैली, स्पष्ट अवधारणा, निरन्तर अभ्यास, अनुशासन र समय व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। कक्षा ११–१२ देखि नै विषयको आधारभूत अवधारणा बलियो बनाउँदै प्रवेश परीक्षाका बहुवैकल्पिक प्रश्न र नमुना परीक्षाको अभ्यास गर्नुपर्ने उनको सुझाव छ। अभिभावकले निर्देशनभन्दा उदाहरण बन्नुपर्ने र शिक्षकले पुरानै शैलीमा पढाउनेभन्दा समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्ने उनको धारणा छ। ठूलो सपना देख्न प्रेरित गर्दै सन्ज्याल भन्छन्,  सपना मात्र पर्याप्त हुँदैन, त्यसलाई पूरा गर्न निरन्तर कर्म, दृढ इच्छाशक्ति र नम्रता आवश्यक हुन्छ। प्रस्तुत छ, शिक्षा, अध्ययन, सफलता र विद्यार्थी जीवनका विविध पक्षमा पुष्पराज सन्ज्यालसँग चैतन्य खबरले गरेको चैतन्य संवाद।

    १– यहाँको बाल्यकालदेखि अध्यापन र अध्ययनको यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?

    मेरो जन्म कालिकोटमा भयो। घरनजिकै मेरो हजुरबुबाले स्थापना गर्नुभएको विद्यालयमा प्रारम्भिक शिक्षा लिएँ। द्वन्द्वका कारण २०५७–५८ सालतिर कैलाली सर्नुपर्‍यो र त्यहीँबाट विद्यालय तहको शिक्षा पूरा गरेँ। त्यसपछि काठमाडौं आएर प्लस टु, स्नातक र स्नातकोत्तर तहको अध्ययन गर्ने अवसर पाएँ। स्नातक पढ्दादेखि नै अध्यापन सुरु गरेको थिएँ। पछि रसायनशास्त्रमा स्नातकोत्तर गरेँ र त्यही विषय पढाउन थालेँ। त्यसपछि राजनीतिशास्त्रमा पनि स्नातकोत्तर गर्ने अवसर पाएँ। अहिले पनि अध्ययन र अध्यापनलाई सँगसँगै अघि बढाइरहेको छु।

    २– अहिले शिक्षालाई रोजगारी र करिअरसँग जोडेर हेर्ने गरिन्छ। तर शिक्षाको वास्तविक उद्देश्य के हो ?

    शिक्षा रोजगारीका लागि मात्र होइन, आफूलाई बुझ्न र बदल्न तथा संसारलाई बुझ्न र बदल्नका लागि हो। शिक्षाले व्यक्तिको व्यक्तित्व, सोच्ने क्षमता, तार्किक क्षमता, तर्क गर्ने क्षमता र बुझाइलाई विस्तार गर्नुपर्छ। त्यसैले म भन्छु— पढ्ने भनेको जागिरका लागि होइन, गजबका लागि हो। शिक्षा रोजगारीका लागि मात्र होइन, सशक्तीकरण र चेतनाका लागि हो। आफूलाई अझ राम्रो बनाउँदै जाँदा अवसर आफैँ सिर्जना हुन्छ।

    ३– शिक्षाको यस्तो उद्देश्य र चेतनाको विकास तपाईंमा कसरी आयो ? यसको मुख्य मोड के थियो ?

    यसको कुनै एउटा छुट्टै मोड छैन। पढ्दै जाँदा मेरो बुझाइ बदलिँदै गयो। मैले परीक्षा पास गर्नका लागि मात्र होइन, कुनै पनि विषयलाई वास्तविक रूपमा बुझ्नका लागि पढ्नुपर्छ भन्ने महसुस गरेँ। अहिले पनि विद्यार्थीलाई यही कुरा भन्छु।

    उदाहरणका लागि, जीवविज्ञानमा मस्तिष्कबारे पढ्दा परीक्षामा कति अंकको प्रश्न आउँछ भनेर मात्र पढ्नु हुँदैन। आफ्नै मस्तिष्क सम्झेर पढ्नुपर्छ। हाम्रो मस्तिष्क कसरी बनेको छ, त्यसमा के–के हुन्छ, स्नायु कोष, मस्तिष्कका विभिन्न भाग र तिनको काम के हो भन्ने बुझ्नुपर्छ। यसरी पढ्दै जाँदा आफूलाई नै बुझ्न थालिन्छ र अध्ययनबाट वास्तविक सन्तुष्टि प्राप्त हुन्छ।

    ४– आजभोलि विद्यार्थीमा पढाइप्रतिको रुचि घटेको र पढाइबाट सकेसम्म टाढा हुन खोज्ने प्रवृत्ति देखिन्छ। अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबाट पनि विद्यार्थी पढ्न नमान्ने गुनासो सुनिन्छ। यस्तो अवस्थामा विद्यार्थीमा पढाइप्रतिको रुचि कसरी जगाउन सकिन्छ ? के विद्यार्थी साँच्चिकै पढ्न नचाहेकै हुन् ?

    यो अहिले घर–घरको समस्या बनेको विषय हो। यसको पछाडि धेरै कारण छन्। सबैभन्दा पहिले अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ। हामी बच्चालाई ‘पढ’ भन्छौँ, तर आफू मोबाइल चलाएर बस्छौँ। त्यसैले बच्चालाई निर्देशन दिनुभन्दा आफू उदाहरण बन्नुपर्छ। अभिभावक स्वयं पुस्तक पढ्ने, अध्ययन गर्ने र सिक्ने वातावरण बनाउनुपर्छ। बच्चाले फोहोर नगरोस् भन्ने हो भने आफूले फोहोर टिपेर डस्टबिनमा हाल्नुपर्छ। अर्थात् अभिभावकले उदाहरण दिनुभन्दा आफैँ उदाहरण बन्नुपर्छ।

    अहिले हामीले अभिभावकत्वभन्दा बढी बच्चालाई अनावश्यक रूपमा सुविधा दिने र उनीहरूका सबै चाहना पूरा गर्ने प्रवृत्ति देखिन्छ। बच्चालाई सानैदेखि संघर्ष गर्न, समस्या सामना गर्न र मेहनत गर्न सिकाउनुपर्छ। घरको वातावरण पनि पढाइअनुकूल हुनुपर्छ। मोबाइलमा मात्र समय बिताउनुको सट्टा घरमा पुस्तक राख्ने, पढ्ने र सिकेका कुरामाथि छलफल गर्ने वातावरण बनाउनुपर्छ।

    त्यसपछि विद्यालय र शिक्षकको भूमिका आउँछ। शिक्षकहरू समयअनुसार आफूलाई परिवर्तन गर्ने, नयाँ कुरा सिक्ने र नयाँ शिक्षण विधि अपनाउने हुनुपर्छ। पुराना सिद्धान्त र पुरानै तरिकाले अहिलेका बालबालिकालाई प्रभावकारी रूपमा पढाउन सकिँदैन। कक्षामा सिधै पाठ सुरु गर्नुभन्दा त्यस विषयसँग सम्बन्धित रोचक तथ्य र उदाहरण प्रस्तुत गरेर विद्यार्थीमा कौतुहलता जगाउनुपर्छ।

    अहिले धेरै विद्यार्थीमा परीक्षा र पढाइको डर छ। त्यो डर र दबाबलाई रमाइलो सिकाइमा परिवर्तन गर्नुपर्छ। खेल, प्रयोग, उदाहरण र मनोरञ्जनात्मक गतिविधिमार्फत पढाउँदा विद्यार्थीले विषयलाई सहज रूपमा बुझ्न सक्छन्। रसायनशास्त्र होस् वा अन्य विषय, शिक्षकले पढाइलाई बोझ होइन, रमाइलो र खोजीको विषय बनाइदिनुपर्छ।

    यसरी अभिभावकले घरमा अध्ययनको वातावरण बनाउने, शिक्षकले आफूलाई समयअनुसार परिमार्जन गर्ने र पढाइलाई रमाइलो तथा व्यवहारिक बनाउने हो भने विद्यार्थीमा पढाइप्रतिको रुचि अवश्य बढाउन सकिन्छ।

    ५– नेपालको शिक्षा प्रणालीमा यहाँले हेर्दा पाठ्यक्रममा के परिवर्तन आवश्यक छ ? अहिलेको पाठ्यक्रम वैज्ञानिक र जीवनोपयोगी छ कि अझै सुधारको आवश्यकता छ ?

    पछिल्लो समय पाठ्यक्रममा धेरै सुधार भएको छ। पहिलेको जस्तो रटेर लेख्नेभन्दा अहिले दैनिक जीवनसँग जोडिने र प्रयोगमा आधारित प्रश्न सोध्ने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्रश्नको ढाँचा पनि परिवर्तन गरेको छ। अहिले कुन विषयमा कति प्रतिशत ज्ञानमा आधारित, कति स्मरणमा आधारित र कति प्रयोगमा आधारित प्रश्न हुने भन्ने स्पष्ट व्यवस्था छ।

    तर पाठ्यक्रममा सुधार भए पनि त्यसअनुसार पाठ्यपुस्तक लेखन र प्रश्नपत्र निर्माण गर्ने सोचमा पूर्ण परिवर्तन आउन सकेको छैन। कतिपय प्रश्न अझै पुरानै शैली र भाषामा सोधिएका छन्। त्यसैले पाठ्यक्रमभन्दा पनि त्यसलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने विषय महत्वपूर्ण छ।

    ६– त्यसो भए पाठ्यक्रमभन्दा यसको कार्यान्वयन र मूल्याङ्कन प्रणालीमा समस्या देखिएको हो ?

    हो। तल्लो तहदेखि नै परियोजना कार्य र प्रयोगात्मक सिकाइलाई जोड दिइएको छ। तर विद्यार्थीले परियोजना कार्यबाट वास्तवमा के सिक्यो भन्ने कुराको सही मूल्याङ्कन हुनुपर्छ। अहिले हाम्रो ठूलो कमजोरी मूल्याङ्कन पद्धतिमै छ।

    उत्तरपुस्तिका जाँचेर अङ्क दिइन्छ, तर नतिजा श्रेणीगत औसतमा निकालिन्छ। यसमा अङ्क र श्रेणीबीचको सम्बन्ध तथा मूल्याङ्कनको निष्पक्षताबारे प्रश्न उठ्ने अवस्था छ। यसको मनोवैज्ञानिक असर विद्यार्थीमा परेको छ र पढाइप्रतिको रुचि पनि घट्न सक्छ। त्यसैले श्रेणीगत मूल्याङ्कन प्रणालीलाई अझ वैज्ञानिक, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक छ।

    ७– शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन पाठ्यक्रम र मूल्याङ्कनसँगै अरू कुन पक्षमा जोड दिनुपर्छ ?

    हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षाको कमी छ। शिक्षाले विद्यार्थीलाई केवल ज्ञान र प्रमाणपत्र दिने होइन, क्षमता र चरित्र पनि निर्माण गर्नुपर्छ। नैतिक शिक्षासँगै व्यावहारिक र व्यावसायिक शिक्षालाई पनि जोड दिनुपर्छ।

    कुनै ज्ञानले मस्तिष्कमा सोच्ने शक्ति, हृदयमा करुणा र हातमा सीप दिँदैन भने त्यो ज्ञान अधुरो हुन्छ। त्यसैले शिक्षालाई जीवन र समाजसँग जोड्नुपर्छ।

    ८– यसमा शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?

    शिक्षक केवल पाठ पढाउने व्यक्ति होइनन्। उनीहरूले विद्यार्थीलाई सही दिशा दिने, क्षमता पहिचान गर्ने र चरित्र निर्माण गर्ने भूमिका निर्वाह गर्नुपर्छ। विद्यार्थीमा ज्ञानसँगै सीप, अनुशासन, नैतिकता र जिम्मेवारीको भावना विकास गराउन शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ।

    त्यसैले अबको शिक्षा प्रणालीले क्षमता र चरित्रलाई सँगसँगै अघि बढाउँदै नैतिक, व्यावहारिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ।

    ९– विज्ञान पढ्ने धेरै विद्यार्थीको लक्ष्य मेडिकल, इन्जिनियरिङ वा सूचना प्रविधिको क्षेत्रमा जाने हुन्छ। कक्षा ११ र १२ सकेपछि मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षामा छात्रवृत्तिसहित सफलता हासिल गर्न विद्यार्थीले कसरी तयारी गर्नुपर्छ ?

    प्रवेश परीक्षाको तयारी गर्दा सबैभन्दा पहिले कक्षा ११ र १२ को आधारभूत अवधारणा बलियो बनाउनुपर्छ। प्रवेश परीक्षाका अधिकांश प्रश्न यही पाठ्यक्रममा आधारित हुने भएकाले कन्सेप्ट स्पष्ट छ भने तयारी धेरै सहज हुन्छ। कन्सेप्ट नै कमजोर छ भने प्रवेश परीक्षा कठिन लाग्छ।

    पढ्दा किताबमा लेखिएको कुरा घोक्नेभन्दा त्यसलाई बुझेर, विश्लेषण गरेर र रचनात्मक तरिकाले अध्ययन गर्नुपर्छ। कक्षामा पनि ११ र १२ को कन्सेप्ट स्पष्ट गराउँदै केही उन्नत तहका प्रश्न अभ्यास गराउनुपर्छ।

    कुनै विषय वा सूत्र एउटा तरिकाले बुझिएन भने अर्को तरिका अपनाउनुपर्छ। उदाहरणका लागि भौतिकशास्त्रको लामो व्युत्पत्ति माथिबाट बुझ्न गाह्रो भए तलको मूल सूत्रबाट उल्टो क्रममा बुझ्न सकिन्छ। छोटो तथा व्यवहारिक प्रश्नबाट सुरु गर्दा पनि विषयप्रति रुचि बढ्छ। शिक्षकले केवल व्युत्पत्ति गराएर छोड्नेभन्दा विद्यार्थीलाई कसरी सम्झने र बुझ्ने भन्ने तरिका पनि सिकाउनुपर्छ। स्मरणशक्ति बढाउने विभिन्न प्रविधि प्रयोग गर्न सकिन्छ।

    विषय आफैँमा गाह्रोभन्दा पनि पढ्ने तरिका नमिल्दा गाह्रो लागेको हुन्छ। मकैको उदाहरण लिन सकिन्छ—सुकेको मकै खान गाह्रो हुन्छ, तर त्यसलाई उसिनेर, भुटेर वा पपकर्न बनाएर खाँदा सहज र स्वादिलो हुन्छ। भौतिकशास्त्र र रसायनशास्त्र पनि त्यस्तै हुन्।

    त्यसैगरी, भौतिकशास्त्र र रसायनशास्त्रलाई छुट्टाछुट्टै विषयका रूपमा मात्र हेर्नु हुँदैन। आणविक भौतिकशास्त्र र आणविक रसायनशास्त्र तथा परमाणु संरचनाजस्ता विषय दुवैतिर जोडिन्छन्। त्यसैले यी विषयबीचको सम्बन्ध बुझेर पढ्दा एउटै अध्ययनबाट दुवै विषयको तयारी गर्न सकिन्छ। यसरी आधारभूत कन्सेप्ट बलियो बनाउने, प्रश्न अभ्यास गर्ने, विषयलाई व्यवहारसँग जोड्ने र पढ्ने उपयुक्त विधि अपनाउने हो भने प्रवेश परीक्षाको तयारी प्रभावकारी बनाउन सकिन्छ।

    १०– गाउँमा पढिरहेको, आर्थिक अवस्था कमजोर भएको विद्यार्थीले डाक्टर वा इन्जिनियर बन्ने सपना पूरा गर्न छात्रवृत्तिमा नाम निकाल्नुपर्ने हुन्छ। प्रवेश परीक्षा पनि ११–१२ कै पाठ्यक्रममा आधारित हुन्छ। यस्तो प्रतिस्पर्धात्मक परीक्षामा पहिलो प्रयासमै सफल हुन विद्यार्थीले आजैदेखि कसरी तयारी गर्ने ?

    यसको पहिलो आधार भनेको ११–१२ को पढाइ सुरु गर्दादेखि नै प्रत्येक विषयको अवधारणा स्पष्ट रूपमा बुझ्नु हो। त्यसपछि त्यही विषयलाई बहुवैकल्पिक प्रश्नको ढाँचामा निरन्तर अभ्यास गर्नुपर्छ। कुनै विषयलाई लामो उत्तर लेख्न सक्ने गरी मात्र होइन, त्यसै विषयबाट एक अंकको प्रश्न सोध्दा पनि सही उत्तर दिन सक्ने गरी गहिराइमा बुझ्नुपर्छ।

    त्यसका लागि पाठ्यक्रमका विषयवस्तु पढिसकेपछि मेडिकल वा इन्जिनियरिङ प्रवेश परीक्षाका नमुना प्रश्नपत्र, प्रश्नसङ्ग्रह, समाधान र नियमित अभ्यास परीक्षालाई पनि निरन्तरता दिनुपर्छ। यसले परीक्षा ढाँचा बुझ्न र आफ्नो कमजोरी पहिचान गर्न सहयोग गर्छ।

    अर्को महत्त्वपूर्ण कुरा समयभन्दा निरन्तरता र अनुशासन हो। मैले विद्यार्थीलाई ‘८–४–१२’ को सूत्रअनुसार पढ्न सुझाव दिन्छु। नियमित कलेज जाने दिनमा कलेज समयबाहेक करिब ४ घण्टा, बिदाको दिन ८ घण्टा र परीक्षा नजिकिँदा आवश्यकताअनुसार १२ घण्टासम्म अध्ययन गर्न सकिन्छ। तर एक दिन धेरै पढेर अर्को दिन पूरै पढाइ छोड्ने बानीले सफलता दिँदैन। दैनिक लक्ष्य बनाएर निरन्तर पढ्नुपर्छ।

    ११–१२ कक्षादेखि नै बहुवैकल्पिक प्रश्न र नमुना परीक्षालाई तयारीको नियमित हिस्सा बनाउनुपर्छ। कलेजहरूले पनि विद्यार्थीलाई यस्ता अभ्यास परीक्षा गराउने र प्रवेश परीक्षाको ढाँचाबारे मार्गदर्शन गर्ने वातावरण बनाउनुपर्छ। सुरुबाटै अवधारणा स्पष्ट पार्ने, बहुवैकल्पिक प्रश्नको अभ्यास गर्ने, नमुना परीक्षा दिने र निरन्तर अनुशासनका साथ अध्ययन गर्ने हो भने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पनि प्रतिस्पर्धात्मक परीक्षामा राम्रो तयारी गर्न सक्छन्।

    ११– सफल हुन चाहने हरेक मानिसका लागि सपना कस्तो हुनुपर्छ ? सपनाले सफलताको यात्रालाई कसरी अघि बढाउँछ ?

    सपना सधैँ ठूलो र उच्च हुनुपर्छ। लक्ष्य ठूलो राखियो भने कम्तीमा त्यसको नजिकसम्म पुग्न सकिन्छ। भनिन्छ नि, तारालाई लक्ष्य बनायो भने चन्द्रमासम्म पुग्न सकिन्छ।

    यसको एउटा राम्रो उदाहरण बीएमडब्ल्यू कम्पनीको प्रसङ्गबाट बुझ्न सकिन्छ। कम्पनीले आफ्ना कर्मचारीलाई बीएमडब्ल्यू किन्न कति वर्ष लाग्छ भनेर सोध्दा कसैले दुई, कसैले तीन र कसैले पाँच वर्ष भने। तर एक उच्च तहका कर्मचारीले आफूलाई २० वर्ष लाग्ने बताए। कारण सोध्दा उनले भनेछन्, ‘बीएमडब्ल्यूको गाडी किन्न होइन, सिङ्गो बीएमडब्ल्यू कम्पनी किन्न २० वर्ष लाग्छ।’

    यसले सोचको फरक देखाउँछ। अरूले गाडी किन्ने सपना देख्दा उनले कम्पनीकै मालिक बन्ने सपना देखे। त्यसैले जीवनमा ठूलो सपना देख्नुपर्छ। तर सपना मात्र देखेर हुँदैन। कर्मबिनाको सपना दुःस्वप्नजस्तै हुन्छ। सपनालाई पूरा गर्न त्यहीअनुसार मेहनत, इच्छाशक्ति र दृढ संकल्प आवश्यक हुन्छ।

    सफलताको सबैभन्दा ठूलो प्रेरणा आफ्नै कर्म र त्यसको कार्यान्वयन हो। असल बन्न धेरै ठूलो काम गरिरहनुपर्दैन, नराम्रो काम नगरे पनि असल बन्न सकिन्छ।

    त्यसैले सफलताको यात्रामा क्षमतासँगै नम्रता र सरलता पनि उत्तिकै आवश्यक छन्। चरा आफ्नो क्षमताका कारण माथि उड्छ भने मानिस आफ्नो नम्रताका कारण उच्च स्थानमा पुग्छ। अहङ्कारले मानिसलाई पतनतर्फ लैजान्छ। त्यसैले ठूलो सपना देख्दै त्यसलाई पूरा गर्न निरन्तर कर्म गर्ने, नम्र रहने र अरूका लागि उदाहरण बन्ने व्यक्ति नै जीवनमा सफल र असल बन्न सक्छ।

    १२– अहिले धेरै युवामा नेपालमा भविष्य छैन, विदेश जानुपर्छ भन्ने सोच बढिरहेको छ। विदेश जाने युवालाई यहाँको सन्देश के छ ?

    अहिलेको विश्वव्यापीकरणको समयमा एउटा देशबाट अर्को देशमा गएर काम गर्नु अस्वाभाविक होइन। तर नेपालमा कुनै अवसर नै छैन भनेर निराश भएर विदेशिनु र अझ ठूलो अवसरका लागि विदेश जानुमा ठूलो फरक छ।

    पढ्न वा राम्रो अवसरका लागि विदेश जानु सकारात्मक कुरा हो। तर नेपाललाई र यहाँका सबै सम्भावनालाई नकारेर जानु ठीक होइन। युवाहरूले नेपालमै लोकसेवा लड्ने, व्यवसाय गर्ने, कम्पनी वा परियोजना सञ्चालन गर्ने, लगानी गर्ने जस्ता सम्भावनाबारे पनि सोच्नुपर्छ। विदेश गए पनि राम्रो अवसर पाएर गएको हुँ, सिकेर वा काम गरेर आवश्यक परे फर्किन्छु भन्ने सकारात्मक सोच हुनुपर्छ।

    ‘नेपालमा केही छैन’ भन्ने नकारात्मक मानसिकता फैलिँदा त्यसको असर नयाँ पुस्तामा पनि पर्छ। हाम्रो सोच सकारात्मक भयो भने त्यसले सकारात्मक परिणाम दिन्छ। मनोविज्ञानमा यसलाई ‘प्लासेबो प्रभाव’सँग जोडेर बुझ्न सकिन्छ भने नकारात्मक सोचले नकारात्मक परिणाम ल्याउने अवस्थालाई ‘नोसेबो प्रभाव’ भनिन्छ। त्यसैले युवाले आफ्नो मानसिकता सकारात्मक राख्नुपर्छ।

    १३ अन्त्यमा यहाँले लोकसेवा र विशेषगरी सामान्य ज्ञान पढाउनुहुन्छ। सामान्य ज्ञान धेरैका लागि विशाल, जटिल र बोरिङ विषयजस्तो लाग्छ। यति धेरै तथ्यलाई कसरी रुचिकर बनाएर पढाउने र लामो समयसम्म सम्झने बनाउने ?

    पढाउनु आफैँमा एउटा सिप हो। विषयको ज्ञानसँगै त्यसलाई प्रस्तुत गर्ने कला पनि आवश्यक हुन्छ। सामान्य ज्ञान पढाउँदा किताबका तथ्यहरू मात्र सुनाउने होइन, विद्यार्थीलाई कक्षामै सम्झन सक्ने तरिका सिकाउनुपर्छ।

    यसका लागि दृश्यात्मक प्रस्तुति, सूत्र, सम्झने तरिका र विशेषगरी कथाको प्रयोग प्रभावकारी हुन्छ। उदाहरणका लागि, विभिन्न स्थानमा पाइने खनिजका नामहरू छुट्टाछुट्टै घोकाउनुभन्दा ती नामलाई एउटा रमाइलो कथामा जोडेर पढाउन सकिन्छ। कथा सम्झिएपछि त्यससँग सम्बन्धित तथ्यहरू पनि सहजै सम्झना हुन्छन्।

    विद्यार्थीले कक्षामा पढेको कुरा कक्षामै ध्यान दिएर सम्झने प्रयास गर्नुपर्छ। शिक्षक पनि रमाइलो, कलात्मक र हास्यपूर्ण शैलीमा पढाउन सक्नुपर्छ। मानिसको मस्तिष्कले सुक्खा तथ्य वा नामभन्दा चित्र, कथा र रोचक प्रसङ्गलाई लामो समयसम्म सम्झने भएकाले जटिल विषयलाई सरल, आकर्षक र ‘क्याची’ शैलीमा प्रस्तुत गर्नु नै प्रभावकारी अध्ययन विधि हो।