साना हातको ठूलो भावना: भोटेकोशीका बाढी पीडितलाई चैतन्य परिवारको निरन्तर साथ - Chaitanya News
  • 2026-09-03
  • 18:38:12
  • बिहिबार,भाद्र १८, २०८३
  • साना हातको ठूलो भावना: भोटेकोशीका बाढी पीडितलाई चैतन्य परिवारको निरन्तर साथ

    साना हातको ठूलो भावना: भोटेकोशीका बाढी पीडितलाई चैतन्य परिवारको निरन्तर साथ

    धनगढी– भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि चैतन्य परिवारले सञ्चालन गरेको सहयोग अभियानअन्तर्गत हालसम्म २ लाख ५१ हजार ९५६ रुपैयाँ संकलन भएको छ ।

    विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले चैतन्य परिवारले सुरु गरेको अभियानमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं र बुटवलमा रहेका चैतन्य परिवारका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।

    अभियानअन्तर्गत पहिलो चरणमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरिएको थियो । त्यसपछि सञ्चालन गरिएको दोस्रो चरणको सहयोग अभियानमा थप १ लाख ४० हजार ८४५ रुपैयाँ संकलन भएको हो ।

    दोस्रो चरणमा चैतन्य पाठशालाका शिक्षक तथा कर्मचारीबाट ८४ हजार ३८४ रुपैयाँ, विद्यार्थीबाट ३० हजार ७६६ रुपैयाँ, काठमाडौंबाट १६ हजार ८९५ रुपैयाँ र बुटवलबाट ८ हजार ८०० रुपैयाँ संकलन भएको छ ।

    यसरी पहिलो चरणको १ लाख ११ हजार १११ रुपैयाँ र दोस्रो चरणको १ लाख ४० हजार ८४५ रुपैयाँ गरी भोटेकोशी बाढीपीडितका लागि चैतन्य परिवारको कुल सहयोग रकम २ लाख ५१ हजार ९५६ रुपैयाँ पुगेको हो ।

    चैतन्य परिवारले विपद्मा परेका नागरिकको पीडामा साथ दिनु सामाजिक उत्तरदायित्वसँगै मानवीय दायित्व भएको बताउँदै सहयोग अभियानलाई निरन्तरता दिएको जनाएको छ । अभियानमा विद्यार्थीहरूले समेत आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्नुले सामाजिक सेवाप्रतिको उनीहरूको भावना र जिम्मेवारीलाई समेत उजागर गरेको छ ।

    चैतन्य परिवारले बाढीपीडितका लागि गरिएको सहयोगलाई केवल आर्थिक सहयोगका रूपमा नभई राष्ट्रले व्यहोरीरहेको विपत्तिमा साथमा उभिने मानवीय भावना र सामाजिक एकताको उदाहरणका रूपमा लिएको जनाएको छ ।

    लामो समयदेखि समाजिक कार्यमा निरन्तरता दिँदै आएको चैतन्यले अझ सहयोगका अभियानहरू निरन्तर रहने समेत जनाएको छ।