काठमाडौं– भोलि (बिहीबार) बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु हुनेछ। बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्नेछन्।
राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य ६ प्रकारका कागजातका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ।
कतिपय ठाँउमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा मतदान गर्ने प्रवृति पनि हुन्छ।
कुनै मतदाता मतदान केन्द्रमा गयो, तर ऊ जानुअघि नै अर्कैले उसको नाममा मतदान गरेको भए के हुन्छ होला ?
यो विषम परिस्थितिको अनुमान गरेर निर्वाचन आयोगले हरेक पटक निर्देशिका बनाउँदा वैकल्पिक व्यवस्था गरेको हुन्छ ।
सुरुमा फर्जी मतदाताले खसाल्ने मत मतपेटिका पुगिसक्ने तर उसले खसालेको मत कुन हो भनेर छुट्याउन सक्ने अवस्था हुँदैन। त्यसैले सुरुमा फर्जी मतदाताले खसालेको मत रद्द गर्न सम्भव हुँदैन र गरिँदैन पनि । तर पछि मतदान केन्द्रमा पुगेको वास्तविक मतदाताले मतदान गर्ने मौका पाउँछ।
आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउँछन्। तर उसले व्यक्त गरेको मतलाई ‘निविदा मतपत्र’ भनिन्छ र मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई निश्चित परिस्थितिमा मात्रै निविदा मतपत्र गणना हुने बताउछन्। उनका अनुसार, उम्मेदवारहरुविच मत बराबर भएमा वा अन्य परिस्थितिमा अदालतको आदेशमा निविदा मतपत्र गणना गरिन्छ । अरु अवस्थामा त्यसको उपयोग हुँदैन।
कुनै मतदाता मतदान केन्द्रमा जाँदा उसको नाममा अर्कैले मत खसालेको पुष्टि भएमा उसले मतदान अधिकृतलाई वास्तविक मतदाता आफू रहेको भनी दाबी गर्न पाउँछ।
त्यसपछि मतदान अधिकृतले ऊ वास्तविक मतदाता हो होइन भन्ने यकिन गर्छ। र, वास्तविक मतदाता हो भन्नेमा मतदान अधिकृत विश्वस्त भएमा त्यो विवरण खुलाइ अभिलेख राखी निर्णय हुन्छ। अनि त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिएर मतदान गर्न पठाइन्छ।
मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ। त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्छ।