वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको सहयात्रा - Chaitanya News
  • 2026-04-25
  • 20:48:13
  • शनिबार,बैशाख १२, २०८३
  • वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको सहयात्रा

    वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको सहयात्रा

     तोमनाथ उप्रेती:

    आज म यहाँ “वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको सहयात्रा” जस्तो अत्यन्तै गम्भीर, समसामयिक र विश्वव्यापी महत्व बोकेको विषयमा आफ्ना केही विचार राख्न उपस्थित भएको छु। यो विषय आजको मानव सभ्यताको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो।

    २१औँ शताब्दी विज्ञान र प्रविधिको युग हो। हामी कृत्रिम बुद्धिमत्ताको युगमा छौँ, अन्तरिक्षमा नयाँ ग्रह खोजिरहेका छौँ, रोगहरूको उपचारमा चमत्कारी सफलता हासिल गरिरहेका छौँ। प्रविधिले हाम्रो जीवन सहज, छिटो र सुविधाजनक बनाइदिएको छ। तर यति ठूलो वैज्ञानिक प्रगतिको बाबजुद आजको विश्व शान्त छैन। युद्ध, हिंसा, मानसिक तनाव, आत्महत्या, असहिष्णुता र पर्यावरणीय संकट दिनानुदिन बढिरहेका छन्।यसले हामीलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाउँछ—के वैज्ञानिक प्रगति मात्र मानव सभ्यताको पूर्ण विकासका लागि पर्याप्त छ?

    विज्ञानले हामीलाई शक्ति दिएको छ, तर दिशाबोध दिन सकेको छैन। विज्ञानले सुविधा दिएको छ, तर सन्तोष दिन सकेको छैन। विज्ञानले जीवन लम्ब्याएको छ, तर जीवनको अर्थ सिकाउन सकेको छैन। यहीँबाट आध्यात्मिक चेतनाको आवश्यकता सुरु हुन्छ।

    माननीय उपस्थितज्यूहरू, वैज्ञानिक सोच तर्क, तथ्य र प्रमाणमा आधारित हुन्छ। यसले प्रश्न गर्न सिकाउँछ, परीक्षण गर्न सिकाउँछ र समस्याको समाधान खोज्न प्रेरित गर्छ। विज्ञानकै कारण आज मानवले प्रकृतिको रहस्य बुझ्न सकेको छ। तर विज्ञान प्रायः “कसरी” भन्ने प्रश्नमा सीमित हुन्छ—कसरी काम गर्छ, कसरी उत्पादन हुन्छ, कसरी नियन्त्रण गर्न सकिन्छ।तर जीवनको मूल प्रश्न भने “किन” हो—किन बाँच्ने? किन नैतिक बन्ने? किन अरूको दुःखमा संवेदनशील हुने?यी प्रश्नको उत्तर विज्ञानले होइन, अध्यात्मले दिन्छ।

    अध्यात्म कुनै अन्धविश्वास होइन, कुनै संकीर्ण धार्मिक कर्मकाण्ड पनि होइन। अध्यात्म आत्मचेतना हो—आफूलाई चिन्नु, आफ्नो मनलाई बुझ्नु र आफ्नो कर्मलाई मूल्यसँग जोड्नु। अध्यात्मले मानिसलाई करुणा, सहिष्णुता, प्रेम र नैतिकताको बाटो देखाउँछ।

    आज विज्ञान र अध्यात्मलाई एक–अर्काको विरोधीका रूपमा प्रस्तुत गरिन्छ। तर यो दृष्टिकोण गलत छ। विज्ञान र अध्यात्म फरक बाटो हुन्, तर लक्ष्य एउटै हो—सत्यको खोजी। विज्ञान बाह्य सत्य खोज्छ, अध्यात्म आन्तरिक सत्य।

    महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ—”धर्मबिनाको विज्ञान लंगडो हुन्छ र विज्ञानबिनाको धर्म अन्धो हुन्छ।” यो कथनले विज्ञान र अध्यात्मको सहयात्रा कति आवश्यक छ भन्ने स्पष्ट पार्छ। आजको विश्वमा देखिएको मानसिक अशान्ति आर्थिक वा राजनीतिक समस्या होइन; यो चेतनागत संकट हो। हामीसँग अत्याधुनिक हतियार छन्, तर संयम छैन। हामीसँग सूचना छ, तर विवेक छैन। यही कारण विज्ञान यदि अध्यात्मविहीन भयो भने मानवताका लागि खतरनाक बन्न सक्छ।

    पर्यावरणीय संकट यसको ज्वलन्त उदाहरण हो। विज्ञानले उद्योग र ऊर्जा दियो, तर अध्यात्मिक चेतनाविना हामीले प्रकृतिको अन्धाधुन्ध दोहन गर्यौँ। यदि विज्ञानलाई अध्यात्मिक जिम्मेवारीसँग जोड्न सकियो भने मात्र दिगो विकास सम्भव हुन्छ।

    राजनीति र शासनमा पनि वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको समन्वय अपरिहार्य छ। विज्ञानले तथ्य, तथ्यांक र प्रविधिको प्रयोग सिकाउँछ। तर अध्यात्मले राजनीतिलाई सेवा बनाउँछ, सत्तालाई उत्तरदायित्व। अध्यात्मविहीन राजनीति शक्ति केन्द्रित हुन्छ, तर जनमुखी हुँदैन।

    शिक्षा प्रणालीमा पनि यही समन्वय आवश्यक छ। आजको शिक्षा सीप र ज्ञानमा सीमित हुँदै गएको छ। तर यदि चरित्र निर्माण भएन भने समाज दक्ष त बन्छ, तर मानवीय हुँदैन। विज्ञानले दक्षता दिन्छ, अध्यात्मले नैतिकता।

    व्यक्तिगत जीवनमा हेर्दा पनि विज्ञानले सुविधा दिन्छ, तर शान्ति दिन सक्दैन। अध्यात्मले मनलाई स्थिरता र उद्देश्य दिन्छ। जब व्यक्ति वैज्ञानिक दृष्टिकोणसँगै आत्मचिन्तनमा अघि बढ्छ, तब उसको कर्म केवल स्वार्थमा होइन, मानवताको हितमा केन्द्रित हुन्छ।

    आज विश्वभर “वैज्ञानिक अध्यात्म” को अवधारणा चर्चामा छ। यसको अर्थ अन्धविश्वास होइन, न त विज्ञानको अस्वीकार। यसको अर्थ तर्कशीलता र आत्मबोधको संयोजन हो। ध्यान, योग र माइन्डफुलनेसजस्ता अभ्यासहरू आज वैज्ञानिक रूपमा पनि मानसिक स्वास्थ्यका लागि उपयोगी प्रमाणित भएका छन्।विज्ञानले मानवलाई शक्तिशाली बनाएको छ। अध्यात्मले मात्र उसलाई जिम्मेवार बनाउँछ। शक्ति र जिम्मेवारीको सन्तुलन बिना कुनै पनि सभ्यता दीर्घकालसम्म टिक्न सक्दैन।त्यसैले आजको आवश्यकता विज्ञान र अध्यात्मबीच द्वन्द्व होइन, सहयात्रा हो। यही सहयात्राले मात्र मानव सभ्यतालाई शान्त, सन्तुलित र समृद्ध बनाउनेछ।

    सभ्य समाजको पुनर्निर्माण व्यक्तिगत प्रयासमा सीमित रहँदैन; यसका लागि सामूहिक संकल्प आवश्यक हुन्छ। परिवारले मूल्य सिकाउँछ, विद्यालयले चरित्र, मिडियाले चेतना निर्माण गर्छ र राज्यले नीति तथा उदाहरण प्रस्तुत गर्छ। यी सबै तहमा शुद्ध सोच र जिम्मेवार आचरणलाई प्राथमिकता दिइएन भने कानुन र प्रविधिले मात्र सभ्यता जोगाउन सक्दैन।

    आज प्रविधिले मानिसलाई जोडेको छ, तर संवेदना घटाएको छ। यस्तो अवस्थामा सार्वजनिक विमर्शमा मर्यादा, असहमतिको सम्मान र सत्यप्रतिको प्रतिबद्धता झनै आवश्यक छ। सभ्य समाज त्यही हो जहाँ शक्ति प्रदर्शनभन्दा तर्क बलियो हुन्छ, र विजयभन्दा न्याय महत्वपूर्ण मानिन्छ।

    सभ्य समाजको पुनर्निर्माण निरन्तर अभ्यास हो। शुद्ध सोचले दिशा दिन्छ, सार्वजनिक आचरणले त्यस दिशालाई जीवन्त बनाउँछ। यी दुवैको समन्वयबाट मात्र आजको समाजले विश्वास, शान्ति र सहअस्तित्वमा आधारित सभ्यताको नयाँ अध्याय लेख्न सक्छ।

    आजको समाज तीव्र प्रविधिक विकास, आर्थिक प्रतिस्पर्धा र सामाजिक विविधताबीच संघर्षरत अवस्थामा छ। यस्तो संक्रमणकालीन समयमा समाजलाई स्थायित्व, नैतिकता र दिगोपनतर्फ उन्मुख गराउन शुद्ध विचार, सत्कर्म र सभ्यता अनिवार्य आवश्यकता बनिसकेको छ। विचार नै व्यवहारको स्रोत हो र विचारमा यदि लोभ, अहंकार, हिंसा वा स्वार्थ हुन्छ भने त्यो व्यक्ति वा समाजले असन्तुलन, अन्याय र विघटनतर्फ लैजान्छ।उदाहरणस्वरूप, भ्रष्टाचार, लाचार नेतृत्व, सामाजिक विभाजनजस्ता समस्याहरू विचारको पतन र कर्मको विकृत स्वरूपकै उपज हुन्। यदि शिक्षाले नैतिकता सँगै विचार शुद्ध गर्न सकेन भने ज्ञान स्वयं विनाशकारी बन्न सक्छ। त्यसैले शिक्षाले मानवमा विवेक र उत्तरदायित्व जागृत गराउनुपर्छ। त्यस्तै, केवल उपदेश वा योजना बनाउनु पर्याप्त छैन; ती योजनाहरूलाई सत्यनिष्ठा र समर्पणसाथ कार्यान्वयन गर्नु आवश्यक छजुन सत्कर्म हो।

    सभ्यता अनुशासन, सम्मान र सहिष्णुताको व्यवहारिक रूप हो। आज जब सामाजिक संजाल, भौतिकवाद र व्यक्तिगत महत्वाकांक्षाले सम्बन्धहरू बिगारिरहेका छन्, सभ्य व्यवहारले नै समाजलाई सन्तुलनमा ल्याउन सक्छ। अतः शुद्ध विचार, सत्कर्म र सभ्य व्यवहारका त्रिकोणीय आधारहरूमा टेकेर मात्र हामी न्यायपूर्ण, समावेशी र दिगो समाज निर्माण गर्न सक्छौं। यही आजको समयको वास्तविक खाँचो हो।

    समाजको समुन्नतिको मूल आधार व्यक्तिको कर्म र विचार हुनुपर्दछ। तर विडम्बनापूर्ण रूपमा आज पनि हाम्रो समाजमा जात, थर र जन्मका आधारमा मानिसको मूल्यांकन गरिन्छ। यस्तो सोचले प्रतिभाहरूलाई दबाउँछ सामाजिक अन्याय र विभाजनलाई बढावा दिन्छ।

    कसैको जन्म कुन जात, वर्ग वा थरमा भयो भन्ने कुरा उसको नियन्त्रणबाहिरको हो, तर उसले गर्ने सोच, कर्म र योगदान भने उसको पूर्ण जिम्मेवारी हो। समाजमा सम्मान योग्य व्यक्ति त्यो हो, जसले सत्य, न्याय र सेवाभावको पक्ष लिन्छ। यदि हामीले मूल्यांकनका मापदण्डरूपमा कर्मशीलता, नैतिकता र विवेकलाई राख्न सकेँ भने मात्र समावेशी र न्यायपूर्ण समाज सम्भव हुन्छ।

    आज पनि हाम्रो समाजमा मानिसको मूल्यांकन जात वा थरको आधारमा हुने चलन कायम छ। यस्तो सोचले गरीबी, विभाजन, र सामाजिक अन्यायलाई अझ गहिरो बनाउँछ। जबकि योगदान, सोच र कर्ममा आधारित मूल्यांकनले नै समाजलाई अघि बढाउन सक्छ। इतिहासले मदर टेरेसा, बुद्ध वा आम्बेडकरलाई सम्झिएको छ, जातका कारण होइन, मानवता र योगदानका कारण।जातपातमा आधारित समाजले न त प्रतिभालाई चिन्छ, न त नविन सोचलाई ठाउँ दिन्छ। यस्तो व्यवस्था अमानवीय मात्रै होइन, राष्ट्रको समुन्नतिको पनि बाधक हो। समता मूलक समाजमा सबै नागरिकले शिक्षा, स्वास्थ्य र न्यायमा समान पहुँच पाउँछन् र आफ्नो क्षमता अनुसार योगदान गर्न स्वतन्त्र हुन्छन्।

    कर्मशील नागरिकहरू समाजको मेरुदण्ड हुन्। उनीहरूले आफ्नो श्रम, समय र चेतनाबाट समाजमा अनुशासन, सहयोग र समृद्धि ल्याउँछन्। जब समाजले यिनै व्यक्तिलाई जात होइन, योगदानका आधारमा मूल्यांकन गर्छ, तब मात्र समावेशी समाजको जग बस्छ।समाजमा परिवर्तन ल्याउन शिक्षा, प्रशासन, नीति र सामाजिक व्यवहारमा समावेशी मूल्यहरू आत्मसात् गर्नुपर्छ। अब समय आएको छजन्मको होइन, कर्म, सोच र योगदानको आधारमा मूल्यांकन गर्ने प्रणालीलाई आत्मसात् गर्ने।

    नेपालजस्तो विकासोन्मुख देशका लागि अब नाराबाट कामतिर उन्मुख हुने समय आएको छ। केवल बोलेर परिवर्तन सम्भव हुँदैनत्यसका लागि गहिरो चिन्तन र ठोस कर्म आवश्यक छ। आज समाजमा भाषण, घोषणा, योजना र आश्वासन प्रशस्त छन्, तर तिनको कार्यान्वयन न्यून छ। यस्तो प्रवृत्तिले जनताको विश्वास खस्कन्छ, संस्थाप्रति निराशा बढ्छ, र समाज निष्क्रिय बन्छ।

    बोल्नेसमाज भावना मात्र उमार्छ, तरगर्नेसमाजले परिवर्तनको जग बसाल्छ। जब विचारशील नागरिकहरूले आफ्नो कर्तव्य बुझेका हुन्छन् र आआफ्नो क्षेत्रबाट इमानदारीपूर्वक योगदान दिन्छन्, तब राष्ट्र मजबुत बन्छ। शिक्षक शिक्षालाई सेवा ठान्छन्, कर्मचारी जनताको सेवामा समर्पित हुन्छन्, राजनीतिज्ञ देशका लागि सोच्दछन्त्यो नै कर्मप्रधान समाज हो।

    विचारशून्यता र निष्क्रियता समाजको प्रगतिको मुख्य बाधक हुन्। जब नागरिकहरू विचारहीन बन्छन्, तब उनीहरू सही र गलत छुट्याउने विवेक गुमाउँछन्, र निष्क्रियता उनीहरूलाई सामाजिक परिवर्तनको सट्टा स्थिति स्वीकार गर्न बाध्य बनाउँछ। यस्तो समाजमा अन्याय, भ्रष्टाचार र विभेद मौलाउँछ, किनकि प्रतिवाद गर्ने चेत र शक्ति हराउँछ।तर, यसको विकल्प होकर्मप्रधान समाज, जहाँ प्रत्येक व्यक्ति आफ्नो उत्तरदायित्व बुझेको, विवेकशील र क्रियाशील हुन्छ। कर्मप्रधान समाजमा सोचविचारले दिशा दिन्छ र कर्मले त्यसलाई व्यवहारमा उतार्छ। यस्तो समाजमा न त अन्याय मौलाउँछ, न त असमानता। प्रत्येक नागरिकले आफ्नो सानो योगदानबाट पनि ठूलो परिवर्तन सम्भव बनाउँछ।जस्तै, जब शिक्षित युवाहरू समाजको समस्यामा संलग्न हुन्छन्, वा कुनै आम नागरिकले सत्यका पक्षमा उभिएर असत्यको विरोध गर्छ, तब त्यस्ता कर्महरूले ठूलो सामाजिक प्रभाव पार्न सक्छ। विचारशील कर्महरू नै समाजमा न्याय, समानता र समृद्धिको आधार बनाउँछन्।त्यसैले, अब समय आएको छहामी निष्क्रियता त्यागेर विचारसाथ कर्म गर्ने संस्कार अपनाऔँ। समाजलाई रूपान्तरण गर्न नाराभन्दा पनि चेतनायुक्त कर्म आवश्यक छ। यही हो सशक्त, प्रगतिशील र न्यायपूर्ण समाज निर्माणको मूल बाटो।

    प्रविधि, विज्ञान, न्याय, शिक्षा, कृषि वा स्वास्थ्यकुनै पनि क्षेत्रको उन्नति निष्कपट कर्मबाट सम्भव हुन्छ। चिन्तनले दिशा दिन्छ, र कर्मले त्यो यात्रालाई गति दिन्छ। त्यसैले अब नारा होइन, निष्क्रियता होइनचिन्तनयुक्त कर्म आवश्यक छ।जब जनतामा कर्मको संस्कार बस्छ, नेतृत्वमा उत्तरदायित्व हुन्छ, र समाजमा योगदानको सम्मान हुन्छ। यही हो समृद्ध राष्ट्रको मूल बाटोबोल्ने होइन, गर्ने समाज।(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक  हुन ।)