काठमाडौँ– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ‘प्रहरी संगठन धुलो टकटक्याएर खरानीबाट उठिरहेको बताएका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्कीले नेपाल प्रहरी संस्थाले विभिन्न कठिन परिस्थितिहरू पार गर्दै आत्मसमीक्षा र सुधारसहित पुनः मजबुत रूपमा नागरिक सेवामा आफूलाई उभ्याएको बताए। यस्तै, उनले लामो समयको उतार–चढावपछि पनि संगठनले आफ्नो दायित्वबाट विचलित नभई निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरे।
आईजीपी कार्कीले सात दशकभन्दा बढी इतिहास बोकेको नेपाल प्रहरीले चुनौती, दबाब र अवरोधहरूका बाबजुद संस्थागत दृढता कायम राख्दै नागरिकप्रति उत्तरदायी भूमिका निर्वाह गरेको बताए।
उनले विगतका विभिन्न घटनाक्रमपछि पनि प्रहरी संगठनले आत्मबलका साथ पुनः उठेर सेवा प्रवाहलाई निरन्तरता दिएको उल्लेख गरे। नागरिकका विविध समस्या, अपेक्षा र आवश्यकताका बीच प्रहरी सधैँ अग्रपंक्तिमा रहेर राज्यको उपस्थिति सुनिश्चित गर्दै आएको उनको भनाइ थियो।
सम्बोधनका क्रममा आईजीपी कार्कीले समय र परिस्थितिअनुसार प्रहरीलाई पहिलो प्रतिक्रियाकर्ता तथा कानुन कार्यान्वयन गर्ने निकायका रूपमा अझ सक्षम बनाउन कार्यगत स्वायत्तता, प्रविधिमैत्री प्रणाली र पर्याप्त स्रोत–साधनमा राज्यको लगानी आवश्यक रहेको धारणा राखे।
वर्तमान सन्दर्भमा प्रहरीको जिम्मेवारी, चुनौती र दायित्व थप विस्तार हुँदै गएको उल्लेख गर्दै उनले सेवा प्रवाहमा थप समर्पण र व्यावसायिकता देखाउन निर्देशन दिए। दीक्षान्त समारोहमा सहभागी नवदीक्षित प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचन सुरक्षामा परिचालन गरिने जानकारी पनि उनले दिए।