काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले ८५ वर्षमा पटक(पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको बताएका छन्।
आज (शुक्रबार) शहीद दिवसका अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली दिँदै बालेनले फेसबुकमा एक स्टाटस लेख्दै ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपरेको भनेका छन्।
उनले फेसबुकमा लेखेका छन, ‘पटक–पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन्। ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो।’
राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको १० वर्षपछि राणा शासनको अन्त्य भए पनि राज्य जनताको बन्न नसकेको भनेका छन्। त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु परेको भन्दै उनले ८५ वर्षमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको भने।
अहिले आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढेको बालेनले दाबी गरेका छन्।
‘लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ’,उनले थप लेखेका छन्, ‘राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जबाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ।’
शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन भन्दै उनले भने, ‘ अब समय आएको छ(शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने। ‘सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने। अब सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै बलिदानीलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय रहेको उनले भनेका छन्। ‘फेरि कसैले शहीद बन्नु नपरोस्। सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली,’ बालेनले भनेका छन्।