काठमाडौँ– संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ। आज (सोमबार) सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो।
समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिए।
उनले भने, ‘२०२६ सालमा बनेको ऐेनलाई हामीले हरेक दफाहरुमा हेरेर समसामयिक बनाउने प्रयास गरेका छौँ। र त्यो अनुरुप यो विधेयक परिमार्जित भएको छ। धेरै संशोधनहरुलाई स्विकार पनि गरिएको छ। अहिले जुन यो डिजिटलको युग छ। त्यो युग अनुसार हामीले यो विधेयकलाई परिमार्जन गरेका छौँ।’
विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ। त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ।
सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई भोली (मंगलबार) बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूचि तय गरिएको छ।