चुनावमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने निर्वाचन आयोगले दियो जानकारी - Chaitanya News
  • 2026-05-05
  • 17:27:56
  • मंगलबार,बैशाख २२, २०८३
  • चुनावमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने निर्वाचन आयोगले दियो जानकारी

    चुनावमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने निर्वाचन आयोगले दियो जानकारी

    काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा हुने जानकारी दिएको छ।

    आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहिताका विषयमा भएको छलफलमा सामाजिक सञ्जालमा अनुगमनबारे जानकारी गराएका हुन्।

    उनले सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोग भएको र नेपाली सेनाको उपकरणमार्फत निगरानी गर्ने बताए।

    ‘चुनावमा सोसल मिडिया मनिटोरिङका लागि सामानहरू हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘नेपाली सेनाको टुल्समार्फत पनि हेर्छौँ। नेपालमा सबैभन्दा स्ट्रोङ टुल्स नेपाली सेनाको नै छ।’

    त्यस्तै आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई एक पटक स्पष्टीकरणको मौका दिने र स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही अघि बढ्ने उनले जानकारी गराए।

    निर्वाचन आचारसंहिता उल्लंघन हुने सामग्री सामाजिक सञ्जालमा पोस्ट रोक्न फेसबुक (मेटा) र टिकटकसँग आयोगले सम्झौता गर्न लागेको पनि उनले जानकारी दिए।