पुटिन आज भारत भ्रमणमा आउँदै, यस्तो छ भारत भ्रमण तालिका, रक्षा वार्ता प्राथमिकतामा - Chaitanya News
  • 2026-04-28
  • 22:33:57
  • मंगलबार,बैशाख १५, २०८३
  • पुटिन आज भारत भ्रमणमा आउँदै, यस्तो छ भारत भ्रमण तालिका, रक्षा वार्ता प्राथमिकतामा

    पुटिन आज भारत भ्रमणमा आउँदै, यस्तो छ भारत भ्रमण तालिका, रक्षा वार्ता प्राथमिकतामा

    काठमाडौं– रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन्। उनको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन भारतीय समयअनुसार विहीबार अपराह्न ४ बजे नयाँदिल्ली पुग्दै छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका रहेको छ।

    नयाँ दिल्लीमा २८ घण्टा रहनेछन् पुटिन:

    यात्राबारे जानकार सरकारी अधिकारीहरूले शुक्रवार पुटिनलाई औपचारिक स्वागत गर्नेछन्। उनको औपचारिक स्वागतपछि २३ औं भारत–रूस शिखर वार्ता सुरू हुनेछ।

    अधिकारीहरूका अनुसार प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा पुटिन र उनको प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्ने छन् । पुटिन शुक्रबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पनि जाने छन्।

    शिखर वार्तापछि पुटिनले रूसको सरकारी प्रसारकको भारत च्यानलको सुरुवात पनि गर्ने बताइएको छ। तत्पश्चात राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन्।

    पुटिन शुक्रबार राति झण्डै साढे ९ बजे भारतबाट प्रस्थान गर्नेछन्।

    शिखर वार्तामा भारतद्वारा रूसी कच्चा तेलको ठूलो मात्रामा गरिएको खरिदका कारण बढ्दो व्यापार घाटाको मुद्दा उठाइने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    सञ्चारमाध्यमहरूका अनुसार शिखर वार्तामा अमेरिकी प्रतिबन्धको भारतद्वारा रूसबाट कच्चा तेल खरिदमा पर्ने प्रभावमा पनि चर्चा हुने सम्भावना छ।

    कयौं सम्झौतामा हस्ताक्षर हुने सम्भावना:

    शिखर सम्मेलनमा पुटिनद्वारा प्रधानमन्त्री मोदीलाई युक्रेन संघर्ष समाप्तिका लागि अमेरिकाले गरिरहेको प्रयासबारे जानकारी गराइने सम्भावना रहेको छ। भारत लगातार युद्ध अन्त्यको बाटो केवल संवाद र कूटनीतिमात्रै रहेको बताउँदै आएको छ।

    मोदी र पुटिनको वार्ताका क्रममा दुई देशबीच कयौं सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना छ, जसमा भारतीय श्रमिकहरूको रूसमा आवागमन सुगम बनाउने र रक्षा सहयोग सम्बन्धी सम्झौता समावेश छ।

    भारतले फार्मा, कृषि, खाद्य उत्पादन र उपभोक्ता वस्तुहरूको क्षेत्रमा रूसमा भारतीय निर्यातको उल्लेखनीय वृद्धि हुने अपेक्षा पनि गरेको छ। भारतीय अधिकारीहरूले भारत उर्वर क्षेत्रमा सहयोग बढाउने दिशामा काम गरिरहेको बताएका छन्।

    रूस हरेक वर्ष भारतलाई ३० देखि ४० लाख टन मल आपूर्ति गर्दै आएको छ अधिकारीहरूका अनुसार दुवै पक्षबीच व्यापार, शिक्षा, कृषि र संस्कृति जस्ता क्षेत्रहरूमा कयौं सम्झौतामा हस्ताक्षर हुन सक्छ।

    शिखर बैठकअघि रक्षामन्त्रीसँग वार्ता:

    शिखर बैठकअघि दुवै देशका रक्षामन्त्रीहरू बीच बिहीबार भेटवार्ता हुने भएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका रूसी समकक्षी आन्द्रे बेलोसोभबीच बिहीबार हुने वार्ता एस–४०० मिसाइल प्रणालीको खरिद, लडाकु विमानको उन्नयन र रूसबाट अन्य महत्वपूर्ण सैन्य सामग्री खरिदमा भारतको रुचिसहितका एजेन्डामा केन्द्रित हुने छ।

    २०२१ मा पनि भारत आएका थिए पुटिन

    भारत र रूस सम्बन्धका सम्पूर्ण आयामको समीक्षाका लागि भारती प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच हरेक वर्ष शिखर बैठक हुँदै आएको छ। अहिलेसम्म भारत र रूसबीच २२ वटा वार्षिक शिखर बैठक भइसकेका छन्।

    रूसी राष्ट्रपति पुटिन पछिल्लो समय सन् २०२१ मा नयाँ दिल्ली भ्रमणमा आएका थिए। गत वर्षको जुलाईमा भारतीय प्रधानमन्त्री मोदी वार्षिक शिखर सम्मेलनका लागि मस्को गएका थिए।