काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले सरकारमा जाने विषयमा पार्टीले ढोका बन्द नगरेको बताएका छन्। उनले आफ्नो पार्टी अनिर्णयको बन्दी बनेर नबस्ने स्पष्ट पारे।
आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका लामिछानेले निर्वाचन आयोगको जलपान कार्यक्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिएका थिए। उनले सरकारमा जानु मात्रै ठूलो कुरा नभएको भन्दै कस्को नेतृत्वमा कस्ता एजेन्डाहरु लिएर जाने कुरा महत्वपूर्ण हुने बताए।
लामिछानेले भने, ‘हामी सरकारमा नजाँदा बहुमतै नपुग्ने स्थिति त छैन। तर, केही सहज बनाउला। केका लागि सरकारमा जाने भन्ने स्पष्ट हुनुपर्छ। अहिले हामी स्थितिलाई नियालिरहेका छौं।’
उनले संसदमा आफ्नो पार्टीले चुनावअघि उठाएका जनजिविका तथा राष्ट्रियताका मुद्दाहरुलाई उठाउने पनि बताए।