काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री देउवा मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजनास्थल सुन्दरीजलमा निर्माण गरिएको भट्टराईको पूर्ण कदको सालिक अनावरण गर्न त्यहाँ गएका हुन्।
भट्टराईको सालिक अनावरण गर्ने क्रममा प्रधानमन्त्री देउवाले नेपालको संविधानमा खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा संरक्षण गरेकाले सरकारले मेलम्ची खानेपानी आयोजना दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताए।
अब काठमाडौं उपत्यकाबासीलाई सधैं पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताए। राजधानीबासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकोमा खुसी लागेको छ, सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ, वर्षभर राजधानीबासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ प्रधानमन्त्रीले भने।
विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पना गरेका थिए।
उनले मेलम्ची आयोजना बाह्रै महिना सञ्चालन गर्न खानेपानी मन्त्रालयअन्तर्गत विभिन्न निकायले अध्ययन गरिरहेको जानकारी दिए। प्रधानमन्त्री देउवाले स्वर्गीय भट्टराईले २०४८ सालमा निर्वाचन प्रचारका क्रममा उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउछु भनेको कुरा पूरा भएको भन्दै भट्टराईले सार्वजनिक रुपमा नै मेलम्चीको पानी ल्याउने प्रतिबद्धता जाहेर गरेकै कारण आयोजनाले थप महत्व र प्रचार पाएको उल्लेख गरे।
उनले २०७८ साल असारमा आएको बाढीले आयोजनामा अकल्पनिय क्षति पुगेपनि सरकारले आयोजनाको पुननिर्माणलाई प्राथकिमता राखेर काठमाडौ उपत्यकामा पुनः पानी वितरण गर्न सफल भएको दाबी गरे।
कार्यक्रमा खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री भट्टराईको मेलम्चीको पानी खुवाउने संकल्पलाई वर्तमान सरकारले पूरा गरेको दाबी गरे। उनले हतार हतारमा मेलम्चीको सुरुङमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाबासीलाई वितरण गर्न तत्कालिन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दा मेलम्ची आयोजनाका जन्मदाता कृष्णप्रसाद भट्टराईको नाम समेत नलिएको भन्दै खेद प्रकट गरेका थिए।
त्यस्तै कांग्रेसका नेता तथा सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले मेलम्ची आयोजना स्थलका स्थानीय जनताको माग सम्बोधन नगरेसम्म खानेपानीको स्थायी रुपमा समस्या समाधान नहुने बताए।