निर्मला कडायत:
काठमाडौं। विश्वमा नेपालको गरिमा घट्दो छ। कुनै बेला नेपाली विरता र गौरवको विश्वभर चर्चा हुने गर्थ्यो। विश्वमा नेपालीलाई बेग्लै दृष्टिकोणले हर्ने गरिन्थ्यो। तर, अहिले त्यो अवस्था छैन। विश्वकै शक्तिमुलुक अमेरिकाले पनि नेपाललाई विशिष्ट स्थान दिएको इतिहास हामीसामू छ।
सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा जयपृथ्वीबहादुर सिंह अतिथिका रूपमा आमन्त्रित थिए। उनी औसत अतिथि मात्रै थिएनन्। उनको उपस्थितिलाई अमेरिकाका सञ्चारमाध्यमले विशेष महत्त्व दिएका थिए। ‘न्युयोर्क टाइम्स’ले उनको भ्रमणका बारेमा विशेष स्थानका साथ समाचार प्रकाशित गरेको थियो। ‘विश्व आस्थामैत्री सम्मेलनमा सम्बोधन गर्ने विभिन्न व्यक्तिमा जयपृथ्वीबहादुर सिंह पनि छन्, जो यस सम्मेलनका सबैभन्दा आकर्षक व्यक्ति हुनेछन्। उनी भूतपूर्व राष्ट्रपति हवर्ट हुवर, न्युटन डी. बेकर तथा प्रोफेसर जोन देवेले आयोजना गरेको सम्मेलनमा भाग लिन न्यूयोर्क सहरमा आइपुगेका छन्,’ सन् १९३३ को जुलाई २९ को अंकमा दी न्युयोर्क टाइम्सले लेखेको छ।
जयपृर्थिवी बहादुर सिंहको जन्म वि।सं। १९३४ साल भाद्र ७ गते अर्थात आजकै दिन बझाङ जिल्लामा भएको थियो। बझाङी राजा विक्रम बहादुर र आमा रुद्राकुमारी सिंहको कोखबाट उनको जन्म भएको हो। जयपृर्थीवी बहादुर ठूला समाजसेवक पनि थिए। उनले मानवतावादी दर्शनको व्याख्या र प्रचार प्रसार पनि गरेका थिए। उनको मानवतावादी दर्शनको व्याख्या र प्रचार प्रसारलाई धेरै देशले रुचाएका थिए। जयपृर्थीवी बहादुरलाई सामान्थी प्रथा, युद्ध, हिंसा र कलह मन पर्थेन। उनले नेपालको शैक्षिक इतिहासमा शिक्षा क्षेत्रको विकासका लागि ठूलो योगदान पुर्याएका छन्। शिक्षाको वृक्षकाल भनिएर चिनिएको राणा कालमा नेपाली भाषकै माध्यमबाट शिक्षा दिने कार्यको थालनी गरेका थिए। उक्त कार्यका लागि नेपाली भाषको पहिलो पाठ्यपुस्तक अक्षराङ्क शिक्षा उनले प्रकाशन गरेका थिए। जुन वि।सं। १९५८ सालमा निस्शुल्क वितरण गरिएको थियो।
यस्तै उनले नेपालको पहिलो पत्रिका गारखा पत्रको वि.सं.१९५८ सालदेखि १९७३ सालसम्म प्रधान सम्पादक भएर काम गरेका थिए। नेपालको शैक्षिक ईतिहासमा महत्त्वपूर्ण योगदान दिएका उनले पश्चिम नेपालका दुर्गम क्षेत्रमा सत्यवादी पाठसाला र अस्प ताल स्थापना गरेका थिए। सादा जीवन र उच्च विचारमा आस्था राख्ने मानव जातिका हकहितका लागि मरिमेट्ने र मानवतावादी सिदान्तद्वारा विश्वमा शान्ति स्थापना तथा भातृत्वको भावना फैलाउने अग्रणी विचारका रुपमा परिचित थिए।
उनले आफ्नो जीवन कालमा शिक्षालाई खुबै महत्त्व दिएका छन्। वि.सं.१९४८ मा १४ वर्षको उमेरमा हुँदा उनले ब्रिगेड नामक अङ्ग्रेजी पुस्तकलाई नेपालीमा अनुवाद गरेका थिए। वि.सं. १९५५ मा बझाङबाट पिछडिएका मानिसलाई काठमाडौं ल्याई तालिम दिएर बझाङमा छाला प्रशोधन, तामा, फलाम तथा नेपाली कागज, घरेलु कपडा र सिलाइ उद्योग स्थापना गरेका थिए। उनले आठ जना विद्यार्थी काठमाडौंमा पढ्न पठाएका थिए। सामान्य शिक्षा आर्जन गरेपछि ती आठै जना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थाका कारिन्दा भएका थिए। त्यसपछि पनि उनले त्यहाँका केही मानिसलाई भारतको अलमोडा पढ्न पठाएका थिए। साथै उनले वि.सं. १९६२ मा काठमाडौंको नक्सालस्थित आफ्नै घरमा सत्यवादी पाठशाला खोलेका थिए। पछि उनले काठमाडौंको सत्यवादी प्राथमिक पाठशाला वि.सं.१९७० मा बझाङमा सारेका थिए। त्यहाँको यो प्रथम विद्यालय थियो।
जयपृथ्वीले देवशमशेरलाई स्कुल खोल्नुपर्छ र नेपाली भाषामा शिक्षा दिनुपर्छ भनेर सुझाव दिएका थिए। उनले विभिन्न पाठ्यपुस्तक पनि लेखेका थिए। त्यसबेला विद्यार्थीले जयपृथ्वीले लेखेको ‘अक्षरङ्क शिक्षा’ पठनपाठन गरिन्थ्यो। उनले क्रमशस् अरु बौद्धिक किताब पनि लेखेका थिए। उनले जम्मा १८ वटा किताब लेखेका छन्। जयपृथ्वीले राजा भएपछि पनि पढेका थिए। उनको पढाइ काठमाडौंको दरबार हाई स्कुलमा भएको थियो। उनले कोलकाता गएर म्याट्रिक उतिर्ण गरेका थिए। उनले प्रयागमा आइए पढेता पनि पूरा गर्न सकेनन्। जयपृथ्वीको १७ वर्षको उमेरमा वि।सं। १९५१ श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग विवाह भएको भएको थियो। तर, यी दम्पतिबाट सन्तान चाहिँ भएनन्।
उनले गोरखा पत्रमार्फत पनि राष्ट्रियता र जनजागरणको पक्षमा खुलेका थिए। त्यही कारण चन्द्रशमशेरले हठात रूपमा गोरखा पत्रको प्रकाशन नै बन्द गराएका थिए। त्यसपछि उनी भारत भागेका थिए। चन्द्रशमशेरका डरले उनी भारतबाट पनि भागेर बेलायत पुगेका थिए। उनी भागेको कुरा श्री ३ चन्द्रशमशेरका थाह पाएपछि उनलाई दाखिल गराउनेलाई पाँच हजार रूपैयाँ इनामको सार्वजानिक घोषणा गरेका थिए। तर, उनी राणाका पञ्जामा नआएपछि उनको खाइपाई आएको भत्ता बन्द गराइएको थियो। त्यसपछि राणाले उनीसँग आफ्नी छोरीलाई पनि छुटाएका थिए। त्यसपछि राणाले जयपृथ्वीको जात च्युत गरेका थिए। जयपृथ्वी पनि ससुरा अर्थात् चन्द्रशमशेरको मृत्यु भएपछि मात्र नेपाल फर्किएका थिए।
डेढ शताब्दी अगाडि रुस भ्रमण गर्ने पहिलो नेपाली जयपृथ्वीबहादुर सिंह र नेपाल भ्रमण गर्ने इभान मिनायेभको स्मृतिमा स्थापना गरिएको जयपृथ्वी इभान मिनायेभ स्रष्टा सम्मान पुरस्कारको स्थापना गरिएको थियो। त्यस्तै उनको सम्मानमा बैतडी–बझाङ राजमार्गलाई जयपृथ्वीबहादुर राजमार्ग नामाकरण गरिएको छ। उनको सम्मानमा जयपृथ्वी पत्रकार पुरस्कार स्थापना गरिएको थियो। पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई सो पुरस्कार प्रदान गरिन्छ।
जयपृथ्वीले प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाएर गोरखा पत्र प्रकाशन गर्न हौसला प्रदान गरेका थिए। सुरुमा गोरखा पत्रका व्यवस्थापक पण्डित नरदेव पाण्डे थिए। १९६० सालमा गोरखा पत्रको दोस्रा व्यवस्थापक जयपृथ्वीबहादुर सिंह भएका थिए। उनी व्यवस्थापक हुँदा एडिटर चिरञ्जीवी शर्मा पौड्याल थिए। १९७२ सालसम्म जयपृथ्वीले गोरखा पत्र प्रकाशनलाई निरन्तरता दिएका थिए। १९५८ वैशाख २४ देखि साप्ताहिक समाचारका रूपमा प्रकाशन सुरु भएको गोरखा पत्रलाई १५ वर्षको अवधिसम्म जयपृथ्वीले जतनका साथ हुर्काए।
जयपृथ्वीले भारतको बेंग्लोर चेट्टीरोडस्थित जया भवनमा सन् १९२८ मा ‘ह्युमानिस्ट क्लब’ खोले। विश्वका विभिन्न ठाउँमा खुलेका यी क्लबले विश्वका सम्पूर्ण प्राणी र बोट–बिरुवालाई माया र संरक्षण प्रदान गर्न विभिन्न चेतनामूलक कार्य गरे। उनको क्लबले मुखपत्रका रूपमा ‘द ह्युमानिस्ट’ नामक पत्रिका प्रकाशित गरेको थियो, जसमा मानवतावादसम्बन्धी विविध विषय प्रकाशित हुन्थे।