आतंकवादविरुद्धका मुद्दालाई राजनीतीकरण गर्न बन्द गरौँ,त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध : चीन - Chaitanya News
  • 2026-05-07
  • 04:21:43
  • बुधबार,बैशाख २३, २०८३
  • आतंकवादविरुद्धका मुद्दालाई राजनीतीकरण गर्न बन्द गरौँ,त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध : चीन

    आतंकवादविरुद्धका मुद्दालाई राजनीतीकरण गर्न बन्द गरौँ,त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध : चीन

    काठमाडौं– चीनले आतंकवादविरुद्धका मुद्दालाई राजनीतीकरण गर्न नहुने बताएको छ। संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतंकवादविरुद्धका विषयमा हुने राजनीतीकरण गर्न नहुने बताएका हुन्।

    चिनियाँ राजदूतले आतंकवादविरोधी मुद्दाको राजनीतीकरण, दोहोरो मापदण्डको विपक्षमा आफ्नो देश रहेको बताए। उनले विश्वव्यापी चुनौती बनेको आतंकवादलाई परास्त गर्न कुनै एक देश सक्षम नभएकाले त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिए।

    विश्वको सुरक्षा सबैको साझा चासोको विषय भएकाले महासभा र सुरक्षा परिषद्का सबै आतंकवादविरोधी प्रस्तावलाई कार्यान्वयन गर्न तथा सुरक्षा परिषदद्वारा सूचीकृत सबै आतंकवादी संगठन र व्यक्तिलाई कारबाही गर्नु सामूहिक दायित्व भएको उनले बताए।

    हालैका वर्षमा केही देशले आतंकवादका मुद्दामा समर्थन गरेकामा खेद प्रकट गर्दै चिनियाँ राजदूतले त्यस्ता गतिविधिले आफूलाई मात्र नभई समग्र विश्वव्यापी आतंकवादविरुद्धका सहयोगलाई कमजोर बनाउने बताए।

    उनले आतंकवादको साझा जोखिम सामना गर्दा सबै पक्षले भूराजनीतिक हिसाबकिताब राख्न नहुने, वैचारिक पूर्वाग्रह त्यागेर, न्यायिक एवं व्यावहारिक ढंगले आतंकवादविरोधी सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। साथै उनले प्रतिआतंकवादका काममा राष्ट्रसंघको केन्द्रीय समन्वयकारी भूमिकालाई सबैले समर्थन गर्नुपर्नेमा जोड दिए।