काठमाडौं– महिला नेत्रहीन टी–२० क्रिकेट सिरिजमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको छ।
मुम्बईमा भइरहेको सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले ३–१ को अग्रतासहित सिरिज आफ्नो बनाएको हो।
यसअघि सुरुवाती दुई खेल भारतले जितेको थियो भने तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पार्दै सिरिजमा फर्केको थियो।
तर चौथो खेलमा घरेलु टोली भारतले पुनरागमन गर्दै सहज जित निकाल्यो।
नेपालले दिएको १६६ रनको लक्ष्य भारतले १० बल अगावै ३ विकेट गुमाएर पुरा गर्यो। भारतका लागि ओपनर शुष्मा पटेलले सर्वाधिक ४५ रन बनाइन्।
शान्ति हान्दाले ३७ र राभान्नीले ३० रन जोडिन् । सिमु दासले अविजित ३० रन योगदान गरिन्।
नेपालका लागि मुना अर्याल र प्रतिभा राईले समान १ विकेट लिए।
त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
जसमा नेपालले निर्धारित २० ओभर खेल्दै बिनिता पुनको अर्धशतकमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो।
कप्तानी समेत गरेकी बिनिताले सर्वाधिक ६९ रन बनाइन्।
मनकेसी चौधरीले ३३, सृजना परियारले २४ र सरिता घिमिरेले १२ रन जोडे।
मुना अर्याल खाता नै नखोली र निशा डगौरा ८ रनमा आउट भए। इशारा माया लुंगेलीले अविजित ६ रन बनाइन्।
भारतका लागि पुला सरेनले २ तथा झिली बिरुअले १ विकेट लिए।
अब नेपाल र भारतबीच सिरिजको पाँचौ तथा अन्तिम खेल बिहीबार हुनेछ।
पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो।