काठमाडौं- ‘भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो’ भन्ने मूल नाराका साथ डेउडा प्रतिष्ठान भारत शाखा बेंगलोरको प्रथम वार्षिक साधारण सभा तथा वार्षिकोत्सव विविध कार्यक्रम गरी सकिएको छ।
डेउडा प्रतिष्ठान भारत शाखा बेङ्लोरका संस्थापक अध्यक्ष यज्ञराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ प्रमुख अतिथि रहेका थिए भने नेपाली जनसम्पर्क समिति भारतका क्षेत्रीय महासचिव माधबराज खडायत विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै डोटेली कान्छाले प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन एवम् प्रचारप्रसारमा उल्लेख्य भूमिकामा खेलेको प्रति आभार व्यक्त गरे। ‘संस्थागत रूपमा प्रवासमा रहेका कलाकारलाई अझैँ संगठित गरेर लैजानु पर्ने आवश्यक छ। व्यक्तिगत रूपमा कला र संस्कृतिको संरक्षणमा लाग्नु भएका कलाकारहरूलाई संस्थामा आवद्ध हुन आग्रह गर्छु। विशेष गरी काल देखि कर्णालीसम्म बसोबास गर्ने नेपालीहरू अधिकांश भारतमा रहेकाले हामीहरूको पहिचानको रूपमा रहेको डेउडालाई देश विदेशमा प्रचारप्रसार गर्नुका साथै डेउडा गीत संगीतमा लागेका कलाकारहरू संस्थागत रूपमा अघि बढ्पर्छ भन्ने मेरो चाहना छ। एकतामा बल हुन्छ,’ उनले भने।
![]()
सबै कलाकारहरू एकतावद्ध भएर अगाडि बढ्दा कला, संस्कृतिको जगेर्नामा थप टेवा पुग्ने उनको भनाइ छ। कार्यक्रमका विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति भारतका क्षेत्रीय महासचिव माधवराज खडायतले प्रवासमा रहेका कलाकारले संस्था स्थापना गरी यति ठूलो कार्यक्रम गर्नु आफैँमा खुसीको कुरा भएको बताए।
प्रवासमा रहेर विभिन्न उद्देश्यले स्थापना गरेका संघ संस्थाबीच एक आपसमा समन्वय हुनुपर्ने उनले औंल्याए।
साधारणसभामा एक दर्जन भन्दा बढी कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरेको संस्थाका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बिरेन्द्र साउँदले बताए। प्रवासमा रहेका तमाम कलाकारलाई संगठित गर्न भारतमा स्थापना गरिएको प्रतिष्ठान एक वर्ष पुगेको छ।
![]()
साधारणसभामा संस्थाका वर्तमान अध्यक्ष करन बिकले स्वागत गर्दै संस्था स्थापना गर्न ऊर्जा प्रदान गर्ने संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डोटेली कान्छालगायत केन्द्रीय समितिप्रती आभार व्यक्त गरेका थिए।
कार्यक्रमका कार्यक्रम संयोजक एवम् सूचना, प्रविधि तथा सञ्चार विभाग प्रमुख सुरेन्द्र रावल र संस्थाका सचिव जया रोकाया, कोषाध्यक्ष यशोदा साउँद ताडीले अतिथिलाई खादा, माला र अविर लगाउँदै स्वागत गरेका थिए।
कार्यक्रममा यज्ञराज भट्ट, करन बिक, शुदर्शन थापा, करन बिष्ट, तपेन्द्र रावल, बसन्ती शाही, जानकी देवी दौल्याल, शुरेश खत्री, संगीता रावल थापा, लक्ष्मी बिष्ट, धर्मा ओखेडा, सीता शाही, कमला खडका, पुषराज खत्रीलगायतका कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन बिरेन्द्र साउँद र शुदर्शन थापाले गरेका थिए।
![]()
![]()
![]()