काठमाडौं- आज भदौ १ गते सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। ओल्के संक्रान्ति आज सुदूरपश्चिममा पहाडी समूदायमा मनाउने गरिन्छ।
साउन सकिएसँगै बाढी–पहिरो जस्ता दैवीक प्रकोपबाट बाचेको खुसीयालीमा सुदूरपश्चिमका पहाडी समुदायका मानिस ओल्के पर्व मनाउँछन्। साउन महिनाको अन्तिम रात र भदौ महिनाको पहिलो दिन सुदूरपश्चिममा धुमधामका साथ ओल्के पर्व मनाउने प्रचलन रहँदै आएको छ।
सुदूर पहाडका मानिस ओल्के पर्व मनाउनका लागि घरबाट टाढा गएका भए पनि यस पर्वमा घर फर्किने गर्छन्। सुदूरपश्चिममा वर्सातको समयमा हुने दैविक प्रकोपबाट बाचेको खुसीमा ओल्क्या र दुःखका दिन आउन लागे दुःखमा विसौ पर्व मनाउने गरिएको संस्कृत विद् डा. बद्रीशर्मा विनाडी बताउँछन्।
वैशाखपछि थुप्रै रोग र दैवीक प्रकोप आउने भएकाले ती प्रकोपमा परी ज्यान गुमाउनु पर्ने हो की? भनेर विसौं पर्व मनाउने गरिएको संस्कृति क्षेत्रका जानकार एवम् सुदूपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशी बताउँछन्। ‘बाचे भनेर ओल्के खानु, पर्ने पो हुँ कि भनेर विसौं खानु’ भन्या उखान नै रहेको जोशीले बताए।
‘सुदूरपश्चिम संस्कृतिमा निकै धनी देश हो। हाम्रा यहाँ आफ्नै चलन र परम्परा छन्। हामीले आफ्ना परम्पराको संरक्षण गर्नु पर्छ। मैले पनि प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएपछि संस्कृतिको जगेर्नका लागि र सुदूरपश्चिको संस्कृति देश विदेशमा पुगाउनका लागि थुप्रै योजना बनाएको छु’, जोशीले भने।
प्रज्ञा प्रतिष्ठानको ऐन, कानुनले गर्दा काममा केही असहज भए पनि त्यसको सहजीकरणका लागि आफूले प्रयास गरिररहेको जोशीले बताए।
ओल्के पर्वको अवसरमा सुदूरपश्चिमका पहाडि जिल्लाका गाउँगाउँमा पिङ पनि राखिएका छन्। यस पर्वमा देउडा खेल्ने चलन रहेको देउडा गायक सुरत राउत डोटेली कान्छा बताउँछन्।
यस पर्वमा गाउँका मु्खिया र मान्यजनका घरमा पुगेर हरियो सागपात दिएर वर्सातको समयमा दैविक प्रकोपबाट बाँचेको खुीयाली साट्ने चलन रहेको छ। हरियो सागलाई ओल्केमा उपहारका रुपमा दिने चलन छ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।
साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसँगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको छ।
पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उनका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ।