काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूलाई कसरी एकताबद्ध बनाएर अगाडि बढ्ने भन्ने चुनौती आफूलाई रहेको बताएका छन्। उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरूबीचको विवादले जनतामा नराम्रो सन्देश गइरहेको र त्यसलाई कसरी मिलाउने भन्ने सबैभन्दा ठूलो चुनौती रहेको बताए।
पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार दाहालले एक तहका नेताहरूमा पार्टीको विचार, नीति, व्यवहार र नेतृत्वप्रति विश्वास धर्मराएको आफूले देखेको अध्यक्ष दाहालको भनाइ थियो । नेताहरूको एउटा पंक्तिमा विचार, व्यवहार, नीति, नेतृत्वप्रतिको विश्वास धर्मराएको देखिन्छ। नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्क उठ्ने सम्भावना छ, दाहालले भने, मेरो चुनौती नेताहरूलाई के गरी मिलाउने भन्ने, आजको सबैभन्दा ठूलो चुनौती भएको छ। नेताहरूलाई मात्रै मिलाउन सक्ने र एकढिक्का भएर यो पार्टी नेतृत्वमा स्थपित गर्ने हो भने जनतामा दुःख छैन।
तराई(मधेसका नेताहरूमा विवाद रहेकाले स्थानीय तह निर्वाचनमा ५० ठाउँमा पराजित हुनुपरेको दाहालको भनाइ थियो। मधेसमा अरु पार्टीबाट माओवादीमा कार्यकर्ता र बुद्धिजीवी प्रवेश गरिरहँदा पार्टीका शीर्ष नेताहरू भने आपसमा लडाइ गरिरहेको भन्दै उनले असन्तुष्टि पोखे। तराई(मधेसमा यो बीचमा हजारौं कार्यकर्ता, बुद्धिजिवी पार्टीमा प्रवेश गरेका छन्। हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने र हराउने हो भन्ने तँछाड र मँछाड भएको छ। अनि नेताहरूको लागि छानबिन समिति बनाउनुपर्ने अवस्था आएको छ, उनले भने।
दाहालले विगतमा माओवादीमा रहेका र विभिन्न कम्युनिस्ट पार्टीमा रहेका नेता तथा समूह एकतामा आउन लागेको बताएका थिए। उनले दाबी गरे, पूर्वमाओवादी र कम्युनिस्ट घटकहरू आउने क्रम चलेको छ। कतिपय समूहगत एकता गर्ने कुरा भएको छ। आउने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्म एकताबद्ध भएर गयो भने वामपन्थी दलहरूमध्ये माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको उनको भनाइ थियो।