काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। यद्यपि, भ्रमणको औपचारिक मिति भने तय भइनसकेको सरकारले जनाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण हुने पुष्टि गरेका हुन्। विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारमा उल्लेख गरिएअनुसार मङ्सिर दोस्रो साताको आसपास भ्रमण हुने उनले बताए।
“तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ,” मन्त्री खनालले भने।
वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै मन्त्री खनालले प्रधानमन्त्रीको भ्रमण परिणाममुखी र उपलब्धिमूलक बनाउने सरकारको चाहना रहेको बताए।
भ्रमणका क्रममा व्यापार तथा पारवहन, सम्पर्क सञ्जाल, ऊर्जा र सीमा व्यवस्थापनलगायत विषयमा सकारात्मक प्रगति गर्ने सरकारको अपेक्षा रहेको उनले बताए।
“भ्रमणका दौरान ‘ट्रेड एन्ड ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगति होस् भन्ने छ,” मन्त्री खनालले भने।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यासका साथै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।
गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ। भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा आर्थिक सहकार्य र विकासका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा हेरिएको छ।