काठमाडौँ: निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। अद्यावधिक विवरणअनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मतदान गर्न पाउने अधिकार पाएका थिए। आयोगले चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण अद्यावधिक गरेको हो।
आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य गरी कुल एक करोड ९१ लाख ९१ हजार ३७५ मतदाता कायम भएका छन्।
यस अवधिमा आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ। त्यस्तै, दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएका लगायतका कारण एक लाख ५८ हजार २६४ जनाको नाम हटाइएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगले मतदाता नामावलीलाई अद्यावधिक र व्यवस्थित बनाउने क्रममा हटाउनुपर्ने नाम हटाएको तथा नयाँ मतदाता थप गरेको जनाएको छ।