‘लोकसेवामा पहुँच होइन,मेहनत चल्छ’: पहिलो प्रयासमै पहिलो बनेका भरतको अनुभव - Chaitanya News
  • 2026-10-12
  • 15:46:36
  • सोमबार,आश्विन २६, २०८३
  • ‘लोकसेवामा पहुँच होइन,मेहनत चल्छ’: पहिलो प्रयासमै पहिलो बनेका भरतको अनुभव

    ‘लोकसेवामा पहुँच होइन,मेहनत चल्छ’: पहिलो प्रयासमै पहिलो बनेका भरतको अनुभव

    अछामको विकट गाउँदेखि काठमाडौंसम्मको यात्रा, आर्थिक अभावसँगको संघर्ष र सीमित अवसरबीच पनि भरत साउँदले आफ्नो लक्ष्य छाडेनन्। परिवारको त्याग, आफ्नै मेहनत र सही रणनीतिलाई आधार बनाएर अघि बढेका साउँद पहिलो प्रयासमै नागरिक लगानी कोषको चौथो तह (सहायक) पदमा खुलातर्फ प्रथम नम्बरमा सिफारिस हुन सफल भएका छन्।

    बुबाको ‘देशमै केही गर्नुपर्छ’ भन्ने प्रेरणा, बहिनीले आफ्नो अध्ययन थाती राखेर दिएको अवसर तथा आठ वर्षको उमेरदेखि स्नातक तहसम्म पालनपोषण गर्ने ठूलोबुबा–ठूलीआमाको योगदान उनको सफलताको बलियो आधार बन्यो। काठमाडौंमा लोकसेवा तयारीका क्रममा ग्यास नपाएर १०–१२ दिनसम्म चाउचाउ खाएर गुजारा गर्नुपरेका दिनदेखि दैनिक १२ घण्टासम्म अध्ययन, लेखन अभ्यास र निरन्तर आत्ममूल्याङ्कनसम्मको संघर्षले उनलाई सफलताको यो बिन्दुसम्म पुर्‍यायो।

    लोकसेवा तयारीका क्रममा उनले पाठ्यक्रमलाई आधार बनाएर अध्ययन सामग्री छनोट गरे, नियमित लेखन तथा नमुना परीक्षा अभ्यास गरे र प्राप्त सुझावका आधारमा आफ्ना कमजोरी सुधार्दै गए। समय व्यवस्थापन, नोट निर्माण, सामान्य ज्ञानको तयारी, उत्तर लेखन, अन्तर्वार्ताको अनुभवदेखि असफलतापछि पुनः तयारीमा फर्किने रणनीतिसम्म उनका अनुभव अन्य परीक्षार्थीका लागि पनि उपयोगी हुन सक्छन्।

    यिनै संघर्ष, तयारीको रणनीति, अध्ययन गर्ने तरिका, समय व्यवस्थापन, परीक्षा अनुभव र सफलताका सूत्रबारे केन्द्रित रहेर चैतन्य खबरले भरत साउँदसँग विशेष संवाद गरेको छ। प्रस्तुत छ, चैतन्य खबरले साउँदसँग गरेको विशेष संवाद।

    १– यहाँको आफ्नो परिचय र शैक्षिक पृष्ठभूमिबारे बताइदिनुहोस् न।

    मेरो नाम भरत साउँद हो। मेरो स्थायी ठेगाना अछामको रामारोशन गाउँपालिका–५ हो। मेरो बाल्यकाल त्यहीँ बित्यो। कक्षा ४ सम्मको प्रारम्भिक शिक्षा श्री कैलाशेश्वर प्राथमिक विद्यालयबाट लिएँ। त्यसपछि कैलालीको टीकापुर गएर अध्ययन गरेँ। टीकापुर बहुमुखी क्याम्पसबाट स्नातक तह पूरा गरेपछि काठमाडौँ आएर लोकसेवाको तयारीमा लागेँ। चैतन्य इन्स्टिच्युटसँगको सहयात्रापछि अहिले नागरिक लगानी कोषको चौथो तहमा पहिलो नम्बरमा सिफारिस हुन सफल भएको छु।

    २– सरकारी सेवामा प्रवेश गर्ने प्रेरणा कहाँबाट मिल्यो ?

    बाल्यकालदेखि नै पढाइमा राम्रो थिएँ। सरकारी सेवामा प्रवेश गर्ने सोच बनाउन परिवारको ठूलो भूमिका छ। विशेषगरी मेरा मामा लोकेन्द्रबहादुर साउँद, जो अहिले विद्युत् प्राधिकरणमा कार्यरत हुनुहुन्छ, उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँलाई आदर्श मानेर सरकारी सेवामा प्रवेश गर्ने इच्छा जागेको हो।

    ३– तपाईंको पारिवारिक तथा आर्थिक पृष्ठभूमि कस्तो थियो ?

    मेरो आफ्नै परिवारमा सरकारी जागिर खाने कोही हुनुहुन्न। सरकारी सेवामा प्रवेश गर्ने परिवारकै पहिलो व्यक्ति म नै हुँ। बुबा सामान्य ज्याला–मजदुरी गर्नुहुन्छ भने आमा गृहिणी हुनुहुन्छ। हाम्रो परिवार आर्थिक र शैक्षिक रूपमा धेरै बलियो थिएन। हामी निम्नमध्यम वर्गीय परिवारका हौँ। कठिन परिस्थितिका बाबजुद पनि परिवारले मेरो अध्ययन र तयारीमा सक्दो सहयोग गर्‍यो।

    ४– लोकसेवाको तयारी गर्ने निर्णय गर्दा परिवारको प्रतिक्रिया कस्तो थियो ? विदेश जाने दबाब थिएन ?

    मेरो बुबा विदेश जाने सोचको पूर्ण रूपमा विरोधमा हुनुहुन्थ्यो। उहाँले सधैँ ‘जे गर्नुछ नेपालमै गर्नुपर्छ, देशभित्रै संघर्ष गर्नुपर्छ’ भन्नुहुन्थ्यो। आर्थिक, सामाजिक र भावनात्मक रूपमा परिवारले मलाई निरन्तर साथ दियो। यही विश्वास र सहयोगले मलाई लक्ष्यमा टिकिरहन ठूलो हौसला दियो।

    ५– पहिलो प्रयासमै पहिलो नम्बरमा सिफारिस भएको खबर परिवारलाई सुनाउँदा उहाँहरूको प्रतिक्रिया कस्तो थियो ?

    सिफारिस भएको खबर पाएपछि सबैभन्दा पहिले बहिनी र आमालाई फोन गरेर सुनाएँ। उहाँहरूले ‘समय लाग्ला कि भन्ने लागेको थियो, तर तेरो नाम निस्किन्छ भन्ने विश्वास थियो’ भन्नुभयो। पहिलो प्रयासमै पहिलो नम्बरमा नाम निकाल्न सकेकोमा उहाँहरू निकै खुसी र गर्वित हुनुभयो। मेरो सफलता मेरो परिवारसँगै गाउँका लागि पनि खुसी र गर्वको विषय बनेको छ।

    ६– लोक सेवा आयोगको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्नुभयो। यो सफलतामा परिवारको कस्तो योगदान र त्याग रह्यो ?

    मेरो सफलतामा परिवारको ठूलो योगदान छ। विशेषगरी मेरी बहिनीको त्याग अतुलनीय छ। उहाँले कक्षा १२ पास गरेपछि थप अध्ययनका लागि काठमाडौँ आउने तयारी गर्नुभएको थियो। तर हाम्रो आर्थिक अवस्था कमजोर भएकाले हामी दुवै जना एकैपटक काठमाडौँ आउन सम्भव भएन। त्यसैले परिवारले मलाई काठमाडौँ पठायो र बहिनीले गाउँमै बसेर स्नातक तहको अध्ययनलाई निरन्तरता दिनुभयो। उहाँले आफ्नो इच्छा थाती राखेर मलाई अवसर दिनुभयो। उहाँको त्याग, माया र निरन्तरको सहयोगकै कारण म आज यो स्थानमा पुग्न सकेँ।

    ७– पहिलो नम्बरमा सफल भएपछि अबको लक्ष्य र चुनौतीलाई कसरी लिनुभएको छ ?

    यो सफलता मेरो व्यावसायिक यात्राको सुरुवात मात्र हो। सरकारी सेवामा प्रवेश गर्नु पहिलो खुड्किलो हो, अझै धेरै खुड्किला पार गर्न बाँकी छन्। मेरो मुख्य लक्ष्य इमानदारी, निष्ठा र स्वच्छ छविका साथ जनताको सेवा गर्नु हो। सरकारी सेवाको उच्च तहसम्म पुग्ने मेरो लक्ष्य छ। समय लागे पनि निरन्तर मेहनत गरेर त्यो लक्ष्य पूरा गर्ने प्रतिबद्धता छ।

    ८– पढाइमा सुरुदेखि नै अब्बल हुनुहुन्थ्यो। लोक सेवा तयारी गर्ने सोच कहिलेदेखि आयो ?

    म सुरुदेखि नै पढाइमा राम्रो थिएँ। कक्षा १२ मा चार जीपीए ल्याएर बोर्डमा उत्कृष्ट भएको थिएँ। त्यसपछि सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत व्यवसाय प्रशासन अध्ययन गर्दा विश्वविद्यालयमै स्वर्ण पदक प्राप्त गरेँ। लोक सेवामा जाने सोच भने स्नातक तहको अन्तिम वर्षतिर आएको हो। मेरा जेठा मामाले सरकारी सेवामा प्रवेश गर्न प्रेरित गर्नुभयो। स्नातक सकेपछि वैदेशिक रोजगारी वा अध्ययनमा जानेभन्दा लोक सेवाको तयारी गर्ने निर्णय गरेँ। स्नातक सकिएलगत्तै काठमाडौँ आएर करिब एक वर्ष कडा मेहनतका साथ तयारी गरेँ र पहिलो प्रयासमै सफलता पाएँ।

    ९– निजामती सेवा वा अन्य संस्थाभन्दा नागरिक लगानी कोष नै रोज्नुको कारण के हो ?

    मेरो अध्ययनको विषय व्यवसाय प्रशासन भएकाले वित्त, अर्थशास्त्र, व्यवस्थापन र लेखा मेरो रुचिका क्षेत्र हुन्। आफूले पढेको विषयको ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्न सकिने भएकाले वित्तीय क्षेत्र मेरो प्राथमिकतामा परेको हो। विषयगत ज्ञानअनुसार काम गर्दा आफूलाई पनि सहज हुन्छ र संस्थालाई पनि राम्रो परिणाम दिन सकिन्छ भन्ने लागेर नागरिक लगानी कोषलाई रोजेको हुँ। वित्तीय क्षेत्रका अन्य संस्थामा पनि परीक्षा दिएको छु, तर पहिलो नतिजा नागरिक लगानी कोषको आयो र त्यसमा पहिलो नम्बरमा नाम निकाल्न सफल भएँ।

    १०– लोकसेवा आयोगको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्नुभएको छ। तयारीका क्रममा तपाईंको दैनिक अध्ययन तालिका कस्तो थियो ?

    मैले २४ घण्टाको समयलाई आठ–आठ–आठको अवधारणामा व्यवस्थापन गरेको थिएँ। करिब आठ घण्टा निद्रा, आराम, सामाजिक तथा दैनिक गतिविधिका लागि छुट्याउँथेँ। आठ घण्टा विषयवस्तुको गहिरो अध्ययनमा र बाँकी करिब चार घण्टा लेखन अभ्यासमा लगाउँथेँ। यसरी दैनिक करिब १२ घण्टा अध्ययन र लेखनमा केन्द्रित हुन्थेँ।

    मेरो दिन बिहान ४ बजेदेखि सुरु हुन्थ्यो। पढिसकेपछि त्यसलाई तुरुन्तै लेख्ने, लेखाइमा प्रशिक्षक तथा शिक्षकबाट नियमित सुझाव लिने र प्राप्त सुझावअनुसार सुधार गर्ने गर्थेँ। पढाइ, लेखाइ, पुनरावृत्ति र नियमित सुझावलाई तयारीको मुख्य आधार बनाएको थिएँ।

    ११– बजारमा धेरै पुस्तक र सामग्री छन्। सही अध्ययन सामग्री कसरी छनोट गर्ने ?

    लोकसेवा तयारीको पहिलो आधार पाठ्यक्रम हो। आयोगले परीक्षार्थीबाट के अपेक्षा गरेको छ भन्ने कुरा पाठ्यक्रमले स्पष्ट गर्छ। त्यसैले पाठ्यक्रमलाई राम्रोसँग बुझेर त्यसअनुसार सामग्री छनोट गर्नुपर्छ।

    एउटै पुस्तकमा मात्र निर्भर हुनु हुँदैन। स्नातक वा उच्च माध्यमिक तहका पाठ्यपुस्तक, सरकारी प्रतिवेदन, आधिकारिक तथ्याङ्क तथा अनुभवी लेखकका विभिन्न पुस्तकलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ। अहिले डिजिटल माध्यम र कृत्रिम बुद्धिमत्ताबाट सूचना सहजै उपलब्ध हुने भएकाले आधिकारिक तथा विश्वसनीय स्रोतलाई प्राथमिकता दिँदै अध्ययन गर्नुपर्छ।

    १२– आफ्नै नोट बनाउँदा के कुरामा ध्यान दिनुपर्छ ?

    नोट बनाउनुको मुख्य उद्देश्य छिटो पुनरावृत्ति गर्नु हो। नोट हेर्नेबित्तिकै विषयका मुख्य कुरा सम्झना आउने गरी तयार गर्नुपर्छ। पाठ्यक्रमले मागेका सबै महत्त्वपूर्ण आयाम समेटिनुपर्छ।

    नोट तयार गर्दा खुला सेतो पाना प्रयोग गर्नु उपयोगी हुन्छ, किनकि पछि नयाँ तथ्य वा जानकारी थप्न सहज हुन्छ। नोट गतिशील र बहुआयामिक हुनुपर्छ तथा विभिन्न विश्वसनीय स्रोतका महत्त्वपूर्ण तथ्यलाई समेट्न सक्नुपर्छ। यसरी तयार गरिएको नोटले परीक्षाको अन्तिम समयमा छिटो र प्रभावकारी पुनरावृत्ति गर्न ठूलो सहयोग गर्छ।

    १३– लोकसेवा आयोगको अन्तर्वार्तामा जाँदा कस्तो अनुभव भयो ? कुनै रोचक प्रश्न सम्झनुभएको छ ?

    लिखितको नतिजा आएपछि आफ्नो अंक थाहा नहुने र प्रतिस्पर्धा निकै कडा भएकाले अन्तर्वार्तामा जाँदा केही डर र तनाव थियो। तर अन्तर्वार्ता कक्षमा पुगेपछि परीक्षकहरूले सहज वातावरण बनाउनुभयो। पाठ्यक्रममा आधारित सामान्य प्रश्नहरू सोध्नुभयो। एउटा रोचक प्रश्नका रूपमा मलाई गायत्री मन्त्र उच्चारण गर्न लगाएर त्यसमा कति शब्द थिए भनेर सोध्नुभयो। मैले शब्द गन्ने ध्यान नदिएको भन्दै इमानदारीपूर्वक उत्तर दिएँ।

    मेरो बुझाइमा अन्तर्वार्ता ज्ञानको मात्र परीक्षा होइन, व्यक्तित्व परीक्षण पनि हो। लिखित परीक्षाबाट ज्ञानको परीक्षण भइसकेको हुन्छ। अन्तर्वार्तामा आफ्नो व्यवहार, प्रस्तुति र व्यक्तित्व हेरिन्छ। त्यसैले नआएको कुरा ढाँटेर वा घुमाएर भन्नुभन्दा थाहा नभएको कुरा सहज रूपमा स्वीकार गर्नु राम्रो हुन्छ।

    १४– शैक्षिक क्षेत्रमा पनि उत्कृष्ट हुनुभयो र लोकसेवामा पनि पहिलो नम्बरमा नाम निकाल्नुभयो। यी दुईबीच कस्तो सम्बन्ध छ ?

    शैक्षिक अध्ययन र लोकसेवा तयारीलाई म फरक विधा मान्छु। शैक्षिक परीक्षामा मुख्य उद्देश्य उत्तीर्ण हुनु र राम्रो अंक ल्याउनु हुन्छ भने लोकसेवामा प्रतिस्पर्धा गर्नुपर्छ। यद्यपि शैक्षिक पाठ्यक्रमले लोकसेवाको धेरै विषयवस्तु समेटेको हुन्छ, त्यसले आधार तयार गर्न ठूलो सहयोग गर्छ।

    तर लोकसेवामा निश्चित पाठ्यक्रम, ढाँचा र उत्तर लेख्ने शैली हुन्छ। यहाँ केवल ज्ञान भएर पुग्दैन, उपलब्ध समयभित्र आधिकारिक सूचना, तथ्याङ्क र विषयवस्तुलाई व्यवस्थित तथा सटीक रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। त्यसैले लोकसेवामा तयारीसँगै उत्तर लेख्ने शैली र रणनीतिमा पनि विशेष ध्यान दिन आवश्यक हुन्छ।

    १५– नागरिक लगानी कोषको चौथो तहमा पहिलो हुनुभएको छ। पछिल्लो समय पाठ्यक्रम परिवर्तन भएर पूर्वयोग्यता परीक्षामा ६० अंकको सामान्य ज्ञानसमेत थपिएको छ। सामान्य ज्ञानको तयारी कसरी गर्नुभयो ?

    सामान्य ज्ञानमा आधारभूत र अनिवार्य विषयवस्तु पढ्नैपर्छ। त्यससँगै मैले विभिन्न संस्थाले सञ्चालन गर्ने नमुना परीक्षालाई मुख्य आधार बनाएँ। नमुना परीक्षामा आएका प्रश्नहरू अध्ययन गर्ने, आफूले नजानेका विषय तुरुन्त खोजेर पढ्ने र प्रश्नपत्र सङ्कलन गरेर निरन्तर अभ्यास गर्ने गरेको थिएँ। यसै रणनीतिले पूर्वयोग्यता परीक्षा सहज रूपमा उत्तीर्ण गर्न सकेँ। शाखा अधिकृतको पहिलो पत्रमा पनि सफल भएको छु र दोस्रो पत्रको नतिजा आउन बाँकी छ। मेरो अनुभवमा आधारभूत ज्ञानसँगै नमुना परीक्षाका प्रश्नलाई सन्दर्भ बनाएर अभ्यास गर्दा उत्तीर्ण अंक हासिल गर्न सहज हुन्छ।

    १६– सामान्य ज्ञानमा धेरै मिति पनि याद गर्नुपर्छ। मिति सम्झन तपाईंले कस्तो तरिका अपनाउनुभयो ?

    मैले मिति सम्झन समयरेखा बनाएर पढ्ने गरेको थिएँ। कुनै निश्चित अवधिमा भएका प्रमुख आर्थिक, सामाजिक तथा ऐतिहासिक घटनालाई क्रमअनुसार टिपोट गर्थें। ईस्वी संवत्को सुरुदेखिका प्रमुख घटनासमेत क्रम मिलाएर नोट बनाएको थिएँ र त्यसलाई पटक–पटक दोहोर्‍याएर हेर्थें। यसले महत्त्वपूर्ण मिति सम्झन सजिलो हुनुका साथै अनावश्यक विषयमा समय खर्च हुनबाट जोगाउँथ्यो।

    १७– बैंकिङ क्षेत्रका परीक्षार्थीले प्रायः अंग्रेजी माध्यम रोज्ने गरेको देखिन्छ। भाषाको छनोटले लोकसेवाको लेखन र नतिजामा कस्तो प्रभाव पार्छ ?

    मेरो विचारमा भाषाको छनोटले नतिजामा प्रत्यक्ष प्रभाव पार्दैन। भाषा आफ्नो विचार र विषयवस्तु प्रस्तुत गर्ने माध्यम मात्र हो। आफूले नेपाली वा अंग्रेजीमध्ये जुन भाषामा स्पष्ट, सहज र व्यवस्थित रूपमा उत्तर लेख्न सक्छ, त्यही रोज्नुपर्छ। अंग्रेजीमा लेख्दा बढी अंक आउँछ वा नेपालीमा लेख्दा बढी अंक आउँछ भन्ने कुनै वस्तुगत आधार छैन। मुख्य कुरा विषयवस्तु, प्रस्तुतीकरण र उत्तरको स्पष्टता हो।

    १८– तर अंग्रेजी माध्यममा लेख्नेले बढी अंक ल्याउँछन् भन्ने धारणा पनि छ नि ?

    त्यो प्रमाणमा आधारित कुरा होइन। यद्यपि अंग्रेजीमा लेख्दा समय व्यवस्थापनमा केही सहजता हुन सक्छ। नेपालीमा लेख्दा व्याकरण, ह्रस्व–दीर्घ र शुद्धतामा बढी ध्यान दिनुपर्ने भएकाले समय लाग्न सक्छ। अंग्रेजीमा विचारको प्रवाह कायम राख्न केही सहज हुन सक्छ। तर कानुनी तथा आधिकारिक विषयवस्तु लेख्दा नेपालीमा प्रस्तुत गर्दा अर्थ र भाव स्पष्ट पार्न सजिलो हुने अवस्था पनि हुन्छ। त्यसैले दुवै भाषाका आ–आफ्नै सबल पक्ष छन्। अन्ततः आफू जुन भाषामा सहज र प्रभावकारी रूपमा प्रस्तुत हुन सक्छ, त्यही माध्यम रोज्नु उपयुक्त हुन्छ।

    १९– लोकसेवाको लेखन परीक्षामा हस्तलेखनले कत्तिको भूमिका खेल्छ ?

    सुन्दर र सफा हस्तलेखन परीक्षकलाई आकर्षित गर्ने भएकाले परीक्षामा अतिरिक्त लाभ दिन सक्छ। तर अक्षर अत्यन्त राम्रो नभए पनि स्पष्ट र सजिलै बुझिने छ भने त्यसले मात्र नतिजामा ठूलो नकारात्मक असर पार्दैन। मुख्य कुरा आफूले लेखेको विषय परीक्षकले स्पष्ट रूपमा बुझ्न सक्ने हुनुपर्छ। यद्यपि अत्यन्त प्रतिस्पर्धात्मक परीक्षा भएकाले सफा र आकर्षक हस्तलेखन हुनु थप लाभदायक हुन्छ। अक्षर नै बुझ्न नसकिने अवस्था छ भने भने त्यसमा सुधार गर्नुपर्छ।

    २०– लोकसेवामा पहुँच वा सिफारिसका आधारमा नाम निस्किन्छ भन्ने भ्रम छ। विकट क्षेत्रबाट आएर पहिलोपटकमै पहिलो हुनुभएको तपाईंको अनुभव के छ ?

    मैले व्यक्तिगत रूपमा लोकसेवामा पहुँच वा सिफारिस चलेको अनुभव गरेको छैन। मेरो अनुभवमा लोकसेवा आयोगको परीक्षा र छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी छ। मैले जति मेहनत गरेको थिएँ र आफ्नो उत्तरप्रति जति विश्वास थियो, नतिजा पनि त्यहीअनुसार आयो। विकट क्षेत्रबाट आएको व्यक्तिले पनि मेहनतका आधारमा पहिलो हुन सक्नुले पहुँचभन्दा क्षमता र तयारी महत्त्वपूर्ण रहेको देखाउँछ। कहिलेकाहीँ सफलता ढिलो हुन सक्छ, तर त्यसलाई पहुँच वा सिफारिससँग जोड्नु उचित हुँदैन। लोकसेवामा निरन्तर मेहनत नै मुख्य आधार हो।

    २१– लोकसेवा तयारीमा निरन्तरता कत्तिको आवश्यक छ ? लामो समय तयारी गर्दा निराश हुने परीक्षार्थीलाई के भन्नुहुन्छ ?

    निरन्तरता अत्यन्तै आवश्यक छ। लोकसेवा तयारी गर्ने निर्णय गरेर अध्ययन सुरु गर्नु नै सफलताको आधा बाटो तय गर्नु हो भने बाँकी आधा निरन्तरतामा निर्भर हुन्छ। लोकसेवामा असफल हुनेभन्दा पनि सीमित सिट र उच्च प्रतिस्पर्धाका कारण योग्यताक्रममा नाम अगाडि नआउने हो। त्यसैले सुरुदेखि नै ‘मेरो नाम निस्किन्छ, समय लागे पनि म सफल हुन्छु’ भन्ने दृढ सोच राख्नुपर्छ। कहिलेकाहीँ रणनीतिले काम नगर्न सक्छ, तर धैर्य, दृढता र निरन्तरता कायम राखे सफलता हासिल गर्न सकिन्छ।

    २२– धेरैपटक परीक्षा दिँदा पनि नाम ननिस्किएर तनाव, आत्मसंशय र निराशामा जाने परीक्षार्थीले आफूलाई कसरी सम्हाल्ने ?

    तनाव, आत्मसंशय, चिन्ता र पारिवारिक तथा सामाजिक दबाब लोकसेवा तयारीका क्रममा धेरैले भोग्ने समस्या हुन्। म आफैँ पनि तयारीका क्रममा अत्यधिक सोच र तनावबाट गुज्रिएको छु। त्यसैले तनाव व्यवस्थापनलाई तयारीकै महत्त्वपूर्ण हिस्सा मान्छु।

    यसका लागि ध्यान, योग र नियमित शारीरिक व्यायाम गर्नुपर्छ। यसले शरीर र मनलाई सन्तुलित राख्न सहयोग गर्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको आत्ममूल्याङ्कन हो। धेरैपटक असफल भएपछि निराश भएर बस्नुको सट्टा ‘मेरो कमजोरी कहाँ छ, किन सफलता मिलिरहेको छैनरु’ भनेर आफ्ना सबल र कमजोर पक्षको निष्पक्ष मूल्याङ्कन गर्नुपर्छ।

    लोकसेवा केवल ज्ञानको परीक्षा होइन, सही रणनीतिको परीक्षा पनि हो। सबैसँग ज्ञान हुन्छ, तर त्यसलाई सही ढङ्गले प्रयोग गर्ने रणनीति फरक हुन्छ। त्यसैले असफलतालाई निराशाको कारण बनाउनुको सट्टा कमजोरी पहिचान गरी रणनीति सुधार्ने, मानसिक रूपमा बलियो बन्ने र नयाँ उत्साहका साथ पुनः तयारीमा फर्किनुपर्छ।

    २३– लोकसेवा तयारी गरिरहेका परीक्षार्थीलाई परिवार, छिमेकी र समाजबाट ‘यति वर्ष भयो, अझै नाम निस्किएन’ भन्ने दबाब हुन्छ। यस्तो सामाजिक तथा पारिवारिक दबाबलाई कसरी सामना गर्ने ?

    आफूप्रति परिवार र नजिकका मानिसले अपेक्षा राख्नु स्वाभाविक हो। त्यसलाई नकारात्मक रूपमा मात्र लिनु हुँदैन। तर तयारीका क्रममा केही समय आफूलाई बाहिरी दबाब र अनावश्यक अन्तर्क्रियाबाट टाढा राख्नु उपयोगी हुन्छ। म पनि कैलालीबाट काठमाडौं आएपछि करिब एक वर्षसम्म धेरैसँग सम्पर्कमा थिइनँ, त्यसैले कसैले कहाँ पुगेँ भनेर प्रश्न गर्ने अवस्था आएन। लोकसेवा तयारीमा अरूले जे भने पनि आफ्नो लक्ष्य नछाड्ने दृढ मानसिकता र अनावश्यक कुरालाई बेवास्ता गर्न सक्ने क्षमता विकास गर्नुपर्छ।

    २४– सामाजिक सञ्जालबाट आउने सूचनाले अध्ययनमा ध्यान भङ्ग गर्छ। यसको प्रयोगलाई कसरी सन्तुलित गर्ने ?

    सामाजिक सञ्जाल अहिले आवश्यक माध्यम बनेको छ, तर यसले अध्ययनमा ध्यान भङ्ग पनि गर्न सक्छ। त्यसैले यसको निश्चित समय निर्धारण गर्नुपर्छ। अध्ययन र आरामको समय छुट्याएर साँझ वा रातिको निश्चित समयमा मात्र सामाजिक सञ्जाल चलाउने बानी बसाल्न सकिन्छ। मोबाइलका विभिन्न अनुप्रयोगमा समयसीमा वा प्रतिबन्ध लगाएर प्रयोग नियन्त्रण गर्दा ध्यान भङ्ग हुने समस्या धेरै कम हुन्छ।

    २५– लोकसेवा तयारी गर्ने परीक्षार्थीको सबैभन्दा ठूलो शत्रु सामाजिक सञ्जाल, साथीसङ्गत वा अरू केही हो ?

    सबैभन्दा ठूलो चुनौती आफ्नै मानसिकता हो। सामाजिक सञ्जाल, आलस्य वा साथीसङ्गत बाहिरी कारण मात्र हुन्। ‘म जसरी पनि सफल हुन्छु र त्यसका लागि निरन्तर लागिरहन्छु’ भन्ने बलियो मानसिकता छ भने बाहिरी विचलनले धेरै असर गर्दैन। त्यसैले सबैभन्दा पहिले आफ्नो मनोबल र लक्ष्यप्रतिको दृढता बलियो बनाउनुपर्छ।

    २६– लोकसेवामा नाम ननिस्किएपछि धेरै परीक्षार्थी निजी जागिरतिर लाग्छन् वा विदेश जान्छन्। के सरकारी जागिर नै अन्तिम विकल्प हो ? निजी क्षेत्रमा पनि अवसर देख्नुहुन्छ ?

    सरकारी जागिरलाई मात्र जीवनको अन्तिम लक्ष्य मान्ने सोच परिवर्तन गर्नुपर्छ। नेपालको निजी क्षेत्र अझै अपेक्षाअनुसार विकसित नभएकाले सरकारी जागिरप्रतिको आकर्षण बढी भएको हो। तर सबैलाई सरकारले रोजगारी दिन सक्दैन र सबै व्यक्ति सरकारी सेवामै जानुपर्छ भन्ने पनि छैन। मेरा धेरै साथीहरू लोकसेवामा सफल नभए पनि निजी क्षेत्रमा काम गरिरहेका छन् वा विदेशमा छन्।

    निजी क्षेत्रलाई कमजोर वा कम सम्मानजनक ठान्नु हुँदैन। मेरो आफ्नै अनुभवमा पनि लोकसेवा तयारीअघि र तयारीकै क्रममा कैलालीमा करिब तीन–चार वर्ष अध्यापन गरेँ र काठमाडौंमा घरमै पढाएर आफ्नो खर्च व्यवस्थापन गरेँ। निजी क्षेत्रका रोजगारीलाई पनि राम्रो र सम्मानजनक बनाउन सकियो भने नेपालमै धेरै अवसर सिर्जना गर्न सकिन्छ। त्यसैले सरकारी जागिर मात्रै उत्तम भन्ने सङ्कुचित सोचभन्दा आफ्नो क्षमता र अवसरअनुसार विभिन्न क्षेत्र रोज्न सक्ने मानसिकता आवश्यक छ।

    २७– लोकसेवा तयारीमा विभिन्न अध्ययन संस्थान तथा प्रशिक्षण केन्द्रको भूमिका कस्तो हुन्छ ? घरमै बसेर स्वअध्ययन गरेर सफलता पाउन सकिन्छ कि संस्थानको सहयोग आवश्यक हुन्छ ?

    मेरो विचारमा अध्ययन संस्थानको सहयोग निकै उपयोगी हुन्छ। जतिसुकै राम्रो खेलाडी भए पनि सही मार्गदर्शनका लागि प्रशिक्षक आवश्यक परेजस्तै लोकसेवा तयारीमा पनि संस्थानले मार्गदर्शकको भूमिका खेल्छ। संस्थानमा जाँदा आफ्ना प्रतिस्पर्धीको तयारी र आफ्नो अवस्था तुलना गर्न सकिन्छ, अनुभवी शिक्षक तथा सफल अधिकृतबाट मार्गदर्शन पाइन्छ र नियमित नमुना परीक्षा तथा अभ्यास गर्ने अवसर मिल्छ।

    घरमै बसेर पढ्दा ‘मैले सबै जानेको छु’ भन्ने आत्मसन्तुष्टि आउन सक्छ। तर नियमित नमुना परीक्षा र प्राप्त प्रतिक्रियाले आफ्नो वास्तविक स्तर र कमजोरी पहिचान गर्न सहयोग गर्छ। साथै संस्थानहरूले केवल पढाउनेभन्दा अनुभवी निजामती कर्मचारीको ज्ञान र अनुभव सङ्कलन गरी ज्ञान आदानप्रदानको मञ्च बनाउन सके तयारी अझ प्रभावकारी हुन्छ।

    २८– लोकसेवा तयारीका क्रममा आर्थिक अभाव र कठिन संघर्ष भोग्नुपरेको थियो ?

    अवश्य। काठमाडौंको महँगी र दैनिक जीवनका समस्यासँग जुध्दै अघि बढ्नु सजिलो थिएन। ग्यास नपाएर लगातार १०–१२ दिनसम्म कोठामा चाउचाउ खाएर बसेका दिन पनि छन्। तर विद्यार्थी जीवनमा यस्ता संघर्षले मानिसलाई व्यवहारिक रूपमा परिपक्व र बलियो बनाउँछ। अभाव र कठिनाइले जीवन बुझ्न र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउँछ भन्ने मेरो अनुभव छ।

    २९– अन्त्यमा नयाँ तयारी सुरु गर्ने परीक्षार्थीलाई के सुझाव दिनुहुन्छ ? आफ्नो सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?

    लोकसेवा तयारीमा सबैभन्दा महत्त्वपूर्ण कुरा आँट, निरन्तरता र सही रणनीति हो। ‘म लोकसेवा तयारी गर्छु’ भनेर दृढताका साथ अघि बढ्नु नै सफलताको आधा बाटो तय गर्नु हो। त्यसपछि निरन्तर मेहनत गर्नुपर्छ। अहिले सूचना र अध्ययन सामग्रीको कमी छैन, त्यसैले अन्धाधुन्ध मेहनतभन्दा रणनीतिक रूपमा पढ्नुपर्छ। नियमित नमुना परीक्षा दिनु, शिक्षकबाट प्रतिक्रिया लिनु र आफ्ना कमजोरी सुधार्दै जानु आवश्यक छ।

    हरेक दिन आफूलाई केही न केही सुधार गर्ने सोच राख्नुपर्छ। नतिजाको चिन्ताभन्दा दैनिक प्रगतिमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ। लोकसेवाको तयारीले नाम निस्किए पनि वा ननिस्किए पनि देश, प्रशासन र समाजबारे ज्ञान बढाउँछ। त्यसैले यो आफ्नो क्षमता र व्यक्तित्वमा गरिएको लगानी पनि हो।

    मेरो सफलताको पहिलो श्रेय परिवारलाई जान्छ। त्यसपछि आठ वर्षको उमेरदेखि स्नातक तहसम्म मलाई हुर्काउने र पढाउने ठूलोबुबा लोकबहादुर साउद र ठूलीआमा दुर्गादेवी साउदप्रति म सधैँ ऋणी छु। काठमाडौंमा निरन्तर मार्गदर्शन र प्रेरणा दिने मेरा मामा लोकेन्द्रबहादुर साउद तथा संघर्षका क्रममा बस्न, खान र भावनात्मक साथ दिने साथी केशव जोसीप्रति पनि विशेष आभार व्यक्त गर्दछु। उहाँहरूको साथ, त्याग र विश्वासले मेरो सफलताको यात्रालाई सम्भव बनाएको हो।

    अन्ततः लोकसेवा तयारी लामो यात्रा हो। सफलता केही ढिलो हुन सक्छ, तर सही रणनीति, निरन्तरता, धैर्य र आत्मविश्वासका साथ अघि बढे सफलता अवश्य प्राप्त गर्न सकिन्छ।