दशैंको आठौँ दिन महाअष्टमी: महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिँदै - Chaitanya News
  • 2026-10-19
  • 12:40:56
  • सोमबार,कार्तिक ०३, २०८३
  • दशैंको आठौँ दिन महाअष्टमी: महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिँदै

    दशैंको आठौँ दिन महाअष्टमी: महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिँदै

    काठमाडौँ– बडादशैंको आठौँ दिन महाअष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आश्विन शुक्ल अष्टमीका अवसरमा दुर्गा भवानीका विभिन्न स्वरूपको विशेष पूजा आराधना गरिँदै छ। महाअष्टमीमा शक्तिको प्रतीकका रूपमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने परम्परा छ। यस दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको छ।

    महाअष्टमीलाई दुर्गा भवानीको आराधना गरी शक्ति प्राप्त गर्ने तथा आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको कामना गर्ने महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार यस दिन देवीको विधिपूर्वक पूजा, दुर्गा सप्तशती अर्थात् चण्डीपाठ, श्रीमद्देवीभागवत तथा देवी स्तोत्रको पाठ गरिन्छ। घरघरका दशैंघर, कोत र विभिन्न शक्तिपीठमा परम्पराअनुसार विशेष पूजाआजा हुने गर्छ।

    महाअष्टमीको अर्को महत्त्वपूर्ण पक्ष पशु बलिको परम्परा हो। शास्त्रीय विधिअनुसार कतिपय शक्तिपीठ तथा धार्मिक स्थलमा बोका, राँगा र अन्य पशुको बलि दिएर दुर्गा भवानीको पूजा गरिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार शास्त्रमा सात्त्विक, राजस र तामस गरी पूजाका विभिन्न विधि उल्लेख गरिएका छन्। सात्त्विक पूजामा जल, चन्दन, अक्षतालगायत सामग्रीबाट पूजा गरिन्छ भने राजस तथा तामस पूजामा सम्बन्धित परम्परा र विधानअनुसार थप विधि अपनाइन्छ।

    धर्मशास्त्रविद्हरूले दुर्गा सप्तशतीको आठौँ अध्यायमा समेत बलिसम्बन्धी प्रसङ्ग उल्लेख भएकाले परम्परागत पशु बलिलाई शास्त्रीय मान्यतासँग जोडेर व्याख्या गर्ने गरेका छन्। उनीहरूका अनुसार देवीलाई शक्तिशाली बनाई आसुरी प्रवृत्तिको नाश गर्ने धार्मिक विश्वाससँग बलिको परम्परा सम्बन्धित छ। यद्यपि बलि दिने वा नदिने विषय समुदाय, सम्प्रदाय र कुल परम्पराअनुसार फरक हुने गरेको छ।

    पशु बलि नदिने परिवार तथा भक्तजनले काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवललगायत सामग्री चढाएर प्रतीकात्मक बलि दिने गर्छन्। यसरी आ–आफ्नो कुल परम्परा र धार्मिक मान्यताअनुसार पूजा गरी महाअष्टमी मनाउने चलन छ।

    महाअष्टमीका दिन देवीका शस्त्रअस्त्रको पूजा गर्ने परम्पराले पनि विशेष महत्त्व राख्छ। घर तथा कार्यालयमा रहेका हातहतियार, कलपुर्जा र सवारीसाधन सफा गरी देवीको प्रतीकका रूपमा पूजा गर्ने चलन छ। परम्परागत मान्यताअनुसार हातहतियारलाई देवीको शक्ति र सुरक्षाको प्रतीक मानिन्छ। यस दिन देवीका शस्त्रअस्त्रसँगै चतुरङ्गिणी सेनाको समेत आह्वान गरी पूजा गर्ने धार्मिक विधान रहेको बताइन्छ।

    महाअष्टमीको राति कालरात्रि पूजा गर्ने परम्परा पनि छ। यस अवसरमा दशैंघर तथा विभिन्न धार्मिक स्थलमा विशेष पूजा र बलिको विधि अपनाइन्छ। हनुमानढोकास्थित दशैंघरमा राज्यका तर्फबाट परम्पराअनुसार ५४ बोका र ५४ राँगाको बलि दिएर कालरात्रि पूजा गर्ने चलन छ। यो पूजा महाअष्टमीको राति गरिने विशेष धार्मिक अनुष्ठानमध्ये एक हो।

    महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई र बङ्गलामुखीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ। भक्तजनले देवीको दर्शन, पूजाआजा तथा मनोकामना पूरा हुने विश्वाससहित धार्मिक अनुष्ठानमा सहभागिता जनाउँछन्।

    काठमाडौं उपत्यकाबाहिर पनि प्रसिद्ध शक्तिपीठहरूमा विशेष पूजा आराधना गरिँदै छ। गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती तथा ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन र पूजाआजाका लागि श्रद्धालु पुग्ने गर्छन्।

    नवरात्रको आठौँ दिन मनाइने महाअष्टमीसँगै बडादशैंको धार्मिक र सांस्कृतिक रौनक थप बढेको छ। घटस्थापनादेखि सुरु भएको नवदुर्गाको पूजा आराधना नवमीसम्म जारी रहनेछ। नवमीका दिन सिद्धिदात्री देवीको पूजा गरेपछि विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

    दशैं नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक भेटघाट, सांस्कृतिक निरन्तरता र आपसी सद्भावको पर्वका रूपमा मनाइन्छ। महाअष्टमीले देवीको आराधना, शक्ति उपासना र पुस्तौँदेखि चल्दै आएका धार्मिक परम्परालाई निरन्तरता दिने अवसर प्रदान गर्दै आएको छ।