काठमाडौँ– बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गामध्येकी अन्तिम देवी सिद्धिदात्रीको विशेष पूजाआराधना गरी मनाइँदै छ। आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा दर्शन, पूजाआजा र धार्मिक अनुष्ठान गर्ने परम्परा छ।
महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिन राखिएको जमरा चढाइन्छ। यस दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने चलन छ। परम्पराअनुसार कतिपय स्थानमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित पूजा गरिन्छ भने बलि नदिने तथा शाकाहारी परिवारले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवल चढाएर पूजा गर्ने गर्छन्।
धार्मिक ग्रन्थ मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन्। यही धार्मिक प्रसङ्गका कारण महानवमीलाई विशेष महत्वका साथ लिने गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्। कतिपय शक्तिपीठमा पञ्चबलि दिने परम्परासमेत रहेको छ।
सिद्धिदात्रीको आराधनाले सिद्धि प्राप्त हुने धार्मिक विश्वास:
महानवमीमा पूजा गरिने नवदुर्गाको नवौँ स्वरूप सिद्धिदात्री हुन्। धार्मिक मान्यताअनुसार विधिपूर्वक साधना र आराधना गर्ने भक्तले सिद्धिदात्रीको कृपाबाट विभिन्न सिद्धि प्राप्त गर्न सक्छन्। देवीलाई दाहिने हातमा जपमाला र गदा तथा बायाँ हातमा कमलको फूल र शङ्ख धारण गरेकी स्वरूपमा वर्णन गरिएको छ। सिंहलाई वाहन र कमललाई आसनका रूपमा लिने परम्परा छ।
धार्मिक कथनअनुसार भगवान् शिवले पनि सिद्धिदात्रीको अनुग्रहबाट विभिन्न सिद्धि प्राप्त गरेका थिए। देवीको कृपाले शिवको आधा शरीर देवीको स्वरूपमा परिणत भएकाले उनी अर्धनारीश्वर नामले प्रसिद्ध भएको विश्वास गरिन्छ।
यस दिन देवीको स्मरण, ध्यान र आराधना गर्दा मनोकामना पूरा हुने तथा आध्यात्मिक उपलब्धि प्राप्त हुने धार्मिक विश्वास छ। महानवमीमा कन्यालाई देवीको प्रतीक मानेर पूजा गर्ने र दक्षिणा दिने चलन पनि छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विधिपूर्वक पूजा गरिन्छ।
कोत र निशानापूजाको विशेष परम्परा:
महानवमीमा धार्मिक पूजाआराधनासँगै कोतपूजा र निशानापूजा पनि गरिन्छ। हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना तथा कोतपूजा गर्ने परम्परा रहेको छ।
नवरात्रको अन्तिम दिनका रूपमा महानवमीमा देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गर्दछ। धार्मिक आस्था, पारिवारिक परम्परा र सांस्कृतिक अभ्याससँग जोडिएको यस पर्वमा देवीको आराधनासँगै दसैँको उल्लास पनि थप बढ्ने गरेको छ।