जनताले दिएको म्यान्डेट अनुसार आत्मासात गरेर सरकार बनाएका हौं : उपप्रधानमन्त्री लिङ्देन - Chaitanya News
  • 2026-04-30
  • 01:44:23
  • बुधबार,बैशाख १६, २०८३
  • जनताले दिएको म्यान्डेट अनुसार आत्मासात गरेर सरकार बनाएका हौं : उपप्रधानमन्त्री लिङ्देन

    जनताले दिएको म्यान्डेट अनुसार आत्मासात गरेर सरकार बनाएका हौं : उपप्रधानमन्त्री लिङ्देन

    काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएको बताएका छन्।

    अलगअलग विचार र सिद्धान्त भएपनि जनताले दिएको म्यान्डेटलाई आत्मासात गरेर आफूहरुले मिलेर सरकार बनाउनु परेको उनको भनाई थियो। आफूसहित पार्टीबाट बनेका नवनियुक्तमन्त्रीहरुसहित पशुपतिनाथ दर्शन गर्न पगेका उपप्रधानमन्त्री लिङ्देनले नेपाली जनताले कुनै एक पार्टी, विचार वा सिद्धान्तलाई विश्वास नगरेपछि दलहरुले मिलेर सरकार बनाउनु परेको समेत स्पष्ट पारे।

    उनले सत्तारुढ दलहरुले मुलुकको आवश्यक्ता अनुसार ठिक ढंगले सहकार्य गरेको र कुनै पनि खालको नराम्रो काम आफूहरुको तर्फबाट नहुने दावी समेत गरे।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री लिङ्देनले आफ्नो दलको विचार वा सिद्धान्तभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँ उभिएर मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

    उपप्रधानमन्त्री लिङदेनले आफूले रोजाई अनुसारकै मन्त्रालय पाएको समेत बताए। उनले शुभ कार्य गर्नु अघि देवीदेवताको दर्शन गर्ने चलन अनुसार नै आफूहरुले पदभार ग्रहण गर्नुअघि पशुपतिनाथको दर्शन गरेको पनि उल्लेख गरे।