जाँचबुझ समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्र्याइँ नगरौँ : विष्णु रिमाल - Chaitanya News
  • 2026-10-22
  • 03:18:00
  • बुधबार,कार्तिक ०५, २०८३
  • जाँचबुझ समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्र्याइँ नगरौँ : विष्णु रिमाल

    जाँचबुझ समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्र्याइँ नगरौँ : विष्णु रिमाल

    काठमाडौं– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतबारको भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्र्याइँ गर्न नहुने बताएका छन्।

    उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समितिले बनाएका पनि समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरू भइरहेको बताएका हुन्। उनले अब पनि विज्ञहरूले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरू विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए।

    सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव रिमालले जाँचबुझ समितिले निकालेको निष्कर्षप्रति सरकार र सम्बन्धित निकायहरू कति इमानदार छन् भन्ने प्रश्न आम मानिसमा रहेको बताए। उनले सरकार र सम्बन्धित निकायहरूले विज्ञहरूले बुझाएको प्रतिवेदन अव्यवहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभई थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक रहेको बताए।

    उनले दिएका रिपोर्ट कति अवलम्बन गरिए भन्ने सन्दर्भमा जनताले प्रश्न उठाइरहेको भन्दै यसको सम्बोधन गर्ने बेला भइसकेको बताए। उपमहासचिव रिमालले सम्बन्धित निकायले जाँचबुझ समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा पनि बदनाम हुने बताए।

    काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो।