काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले भोटेकोशी विपत्तिमा उद्धार कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै उपलब्ध सबै प्रविधि, उद्धारका उपाय र दक्ष जनशक्ति तत्काल परिचालन गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपत्तिको समयमा राजनीतिक विभाजनभन्दा नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन्। भोटेकोशीमा आएको विपत्तिपछि सुरुङभित्र फसेकाहरूको उद्धारमा थप सक्रियता देखाउन उनले सरकारको ध्यानाकर्षण गराइन्।
ओलीले उद्धार गरी अस्थायी आश्रयस्थलमा राखिएका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्य अवस्था पनि गम्भीर विषय भएको बताइन्। मधुमेह, उच्च रक्तचाप, क्यान्सरलगायत दीर्घरोगका बिरामीको नियमित औषधि अवरुद्ध हुन नदिन स्वास्थ्य मन्त्रालयले विशेष स्वास्थ्य टोली परिचालन गरी आवश्यक औषधिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
उनले भोटेकोशीको विपत्तिलाई राजनीतिक विषयभन्दा मानवीय संकटका रूपमा हेर्नुपर्नेमा जोड दिइन्।
‘भोटेकोशीको यो भीषण विपत्तिको घडीमा हामी सत्ता पक्ष र प्रतिपक्ष होइनौँ, हामी एउटै राज्य हौँ, एउटै पीडामा उभिएका नेपाली हौँ,’ उनले भनिन्, ‘त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता राजनीति होइन, जीवनको रक्षा र नागरिकको उद्धार हुनुपर्छ।’
सांसद ओलीले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरमा जलवायु न्यायका लागि तथ्य र स्पष्ट योजनासहित पहल गर्न सरकारलाई आग्रह गरिन्।
अर्थमन्त्री र कृषिमन्त्रीले लस एन्ड ड्यामेज कोषका लागि पत्राचार गरेको भनिए पनि त्यसमा माग गरिएको रकम, प्रभावित क्षेत्र र समयसीमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ। नेपालको पुनर्निर्माण लागत अर्बौं डलर पुग्न सक्ने भन्दै उनले सीमित अन्तर्राष्ट्रिय कोषबाट आउने रकममा मात्र निर्भर भएर पुनर्निर्माण सम्भव नहुने बताइन्।
प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन लागेको उल्लेख गर्दै ओलीले त्यहाँ नेपालले भोगिरहेको जलवायुजन्य क्षति र जलवायु न्यायको विषय स्पष्ट रूपमा उठाउन आग्रह गरिन्।
उनले जलवायु परिवर्तनले विपद्को जोखिम बढाए पनि त्यसलाई घरेलु कमजोरी ढाक्ने आधार बनाउन नहुने बताइन्। नदीको प्राकृतिक बहावमा हस्तक्षेप, अव्यवस्थित सहरीकरण, वातावरणीय मापदण्डको उल्लङ्घन तथा विपद् पूर्वतयारी, पूर्वसूचना, उद्धार र सरकारी निकायबीचको समन्वयमा भएका कमजोरीको समेत समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
ओलीले विगतका विपद्बाट पाठ सिक्दै सरकारले आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।