ग्यासको लाइनदेखि वाक् स्वतन्त्रतासम्म : सरकारप्रति नेकपा सांसद वयकको आक्रोश - Chaitanya News
  • 2026-09-10
  • 16:13:58
  • बिहिबार,भाद्र २५, २०८३
  • ग्यासको लाइनदेखि वाक् स्वतन्त्रतासम्म : सरकारप्रति नेकपा सांसद वयकको आक्रोश

    ग्यासको लाइनदेखि वाक् स्वतन्त्रतासम्म : सरकारप्रति नेकपा सांसद वयकको आक्रोश

    काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले खाना पकाउने ग्यासको अभावले सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको भन्दै सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद वयकले ग्यास पाउन नागरिकले घण्टौँ लाइनमा बस्नुपर्ने, पानीमा भिज्दै सिलिन्डर बोकेर आपूर्ति केन्द्र धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताए।

    उनले ग्यास अभावकै कारण सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन नसकेपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटनासमेत संसद्मा उठाए। यस्तो अवस्था सिर्जना हुनुमा सम्बन्धित मन्त्री र सरकार नैतिक रूपमा जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

    काठमाडौँलगायत विभिन्न स्थानमा कोठा भाडामा लिएर बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास नपाएपछि सहयोगका लागि सांसदहरूलाई फोन गर्नुपर्ने अवस्था आएको उनले बताए। आपूर्ति व्यवस्थापनमा सरकारको कमजोरी र लापरवाहीकै कारण नागरिकले दुःख पाउनुपरेको उनको आरोप थियो।

    ‘पानीमा भिज्दै सिलिन्डर लिएर विद्यार्थी र सर्वसाधारण नागरिकहरू कहिलेसम्म भोकभोकै लाइनमा बस्नुपर्ने हो सरकार?’ भन्दै उनले सरकारसँग प्रश्न गरे।

    सांसद वयकले पछिल्लो समय सरकारप्रति नागरिकमा निराशा बढ्दै गएको दाबी पनि गरे। जेन जेड आन्दोलनका क्रममा ‘बोल्न देऊ सरकार’ भन्दै आवाज उठाउनेहरू नै अहिले सरकारको नेतृत्वमा पुगेपछि प्रश्न उठाउनेहरूप्रति खबरदारीको भाषा प्रयोग गर्न थालेको उनको आरोप थियो।

    संविधानले सुनिश्चित गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै व्यक्ति वा समूह विशेषका लागि नभएको भन्दै उनले सरकारलाई अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे।

    ‘जनताका अगाडि कसैको झुटो अभिव्यक्ति र धम्की टिक्ने छैन,’ उनले भने, ‘संविधानले व्यवस्था गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै विशिष्ट व्यक्तिको अनुहार हेरेर राखिएको होइन। यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ।’

    यसैबीच, सांसद वयकले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा कैलालीका विभिन्न स्थानका ३४ जना मैलुङ खोला हाइड्रोपावरको २१६ नम्बर ड्यामबाट बेपत्ता भएको विषय पनि संसद्मा उठाए। बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन उनले सरकारसँग माग गरे।