विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त अस्पतालमा आक्रोशित - Chaitanya News
  • 2026-10-22
  • 03:14:06
  • बुधबार,कार्तिक ०५, २०८३
  • विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त अस्पतालमा आक्रोशित

    विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त अस्पतालमा आक्रोशित

    पोखरा– यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन्।

    शव पहिचान भएको २४ घन्टा बितिसक्दासमेत शव बुझ्न नपाएको भन्दै उनीहरु आक्रोशित भएका हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका मृतकका आफन्त र परिवारका सदस्यले धेरै समय पर्खिनुपरेको भन्दै विरोध जनाएका हुन्।

    मृतकका परिवारका सदस्यले शव दिन ढिलाइ हुनुको कारण जानकारी माग गर्दै आफूहरुले कतिबेर कुर्नुपर्ने हो भन्ने प्रश्न गरिरहेका छन्।

    अस्पतालले पहिचान भएका र पोस्टमार्टम भएका शव पनि आफन्तलाई दिएको छैन। अस्पतालले सबै शव जम्मा भएपछि मात्र सोमबारबाट दिने बताएको थियो। तर, पहिचानका शव पनि दिन ढिला गरेको भन्दै आफन्त आक्रोसित बनेका छन्। अस्पतालले पनि पोस्टमार्टम भइरहेको र क्रमश दिइने बताएको छ।

    दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ। शव भेटिएकामध्ये २६ जनाको पहिचान भएको छ। चार जनाको शवको खोजी भइरहेको छ।

    विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा। समारिका दाहालले पोखरा आएका छन्।

    पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ।