काठमाडौँ– लोक सेवा आयोगले उपसचिव वा सोसरह पदको अन्तर्वार्ताका लागि छनोट भएका तीन उम्मेदवारको दरखास्त तथा परीक्षा रद्द गरेको छ। आवश्यक अनुभवसम्बन्धी मापदण्ड पूरा नभएको पाइएपछि आयोगले उनीहरूको नाम अन्तर्वार्ता सूचीबाट हटाएको हो।
आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीले बुधबार जारी गरेको सूचनाअनुसार प्रशासन सेवाअन्तर्गत लेखा र राजस्व समूहका सुरेन्द्र कार्की, अन्जु चौधरी र वाचस्पति सुनुवारको नाम अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट हटाइएको छ।
आयोगका अनुसार लिखित परीक्षाबाट ‘इन बास्केट एक्सरसाइज’ तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको अनुभवसम्बन्धी विवरण जाँच गर्दा उनीहरूले राजपत्राङ्कित तृतीय श्रेणीको पदमा हासिल गरेको अनुभव पेस गरेको भेटिएको थियो।
तर उपसचिव वा सोसरह पदका लागि यस्तो अनुभव मात्र पर्याप्त नहुने कानुनी व्यवस्था छ। लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ११ को उपदफा (५) को खण्ड (ज) अनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको पदमा आवेदन गर्दा सम्बन्धित सेवा वा समूहको राजपत्राङ्कित तृतीय श्रेणीको पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेपछिको अधिकृत स्तरको अनुभवलाई मात्र मान्यता दिने व्यवस्था छ।
उम्मेदवारहरूले पेस गरेको अनुभव उक्त व्यवस्थासँग मेल नखाएको आयोगले जनाएको छ। अनुभवसम्बन्धी आवश्यक मापदण्ड पूरा नभएपछि आयोगले उनीहरूको दरखास्त र परीक्षा नै रद्द गर्ने निर्णय गरेको हो।
लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा (३) अनुसार कारबाही गर्दै आयोगले तीनै जनाको नाम अन्तर्वार्ता सूचीबाट हटाएको जनाएको छ।