काठमाडौं- सुदूरपश्चिम प्रदेश शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा कोटा संख्याभन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन्।
आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि २०७८ साल चैत्र १९ गते र २०७९ साल असार १३ गते लिएको खुला प्रतीयोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामाको नतिजाअनुसार कोटाभन्दा कम उम्मेदवार उत्तीर्ण भएका हुन्।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको नतिजाअनुसार बैतडी, कंचनपुर र कैलाली जिल्लाबाहेकका अन्य जिल्लामा विज्ञापनको कोटाभन्दा कम उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्।
आयोगले दिएको तथ्यांकअनुसार अछाम जिल्लामा १ सय ३७ जनाको लागि भएको परीक्षामा सहभागी १ सय ९० जनामध्ये १ सय ३५ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। त्यस्तै डोटीमा १ सय ४८ जनाका लागि भएको परीक्षामा ३ सय ९ जना सहभागी भएका थिए तीमध्ये १ सय ३४ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।
त्यस्तै दार्चुलामा १ सय ३२ जनाका लागि भएको परीक्षामा २ सय ५९ जना सहभागी भएका मध्ये १ सय २ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। त्यस्तै बैतडीमा २ सय ४ जनाको कोटा थियो जसमा लिखित परीक्षामा ५ सय ७६ जना सहभागी भए। सोमध्ये २ सय ३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।
यस्तै बझाङमा ९६ जनाको कोटा थियो जसमा लिखित परीक्षामा १ सय १३ जना सहभागी भएका थिए भने सो मध्ये ७७ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। डडेलघुरामा पनि ९५ जनाको कोटा रहेको लिखित परीक्षामा १ सय ४४ जना सहभागी भएकामध्ये ८५जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।
यसैगरी कैलालीमा ७४ जनाको कोटामा भएको परीक्षामा २ सय ५ जना सहभागी भएका थिए। सोमध्ये ८१ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। कञ्चनपुरमा ७६ जनाको कोटामा भएको लिखित परीक्षामा २ सय १८ जना सहभागी भएकामध्ये ८० जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। बाजुरामा ७३ जनाको कोटामा भएको परीक्षामा ८२ जना सहभागी भएकामध्ये ६५ जना अन्तर्वार्ताका लागि छनोटमा परेका थिए।
शिक्षक सेवा आयोगले पाठ्यक्रम परिवर्तन गरी दुई चरणमा परीक्षा लिने प्रणालीको सुरुवातले गर्दा माग कोटाभन्दा कम उत्तीर्ण भएको हुनसक्ने सुदूरपश्चिम शिक्षा विकास निर्देशनालय दिपायलका शाखा अधिकृत एवम् सूचना अधिकारी कृष्ण बोहराले बताए।