पोखरा– पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत र पोस्टमार्टमको प्रक्रिया चलिरहेको छ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शवहरूको पहिचान र पोस्टमार्टमका लागि काठमाडौंबाट मेडिकल टीम पोखरा पुगेको छ।
केन्द्रबाट गएको टीम र पोखरामै उपलब्ध चिकित्सकहरूले पोस्टमार्टम गरिरहेका छन्।
३८ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत र पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।
बल्ल काम शुरू गर्यौं। मेडिकल भित्र छिरेको छ। केही शव नचिनिने अवस्थामा पनि छन्, प्रजिअ केसीले भने।
४ वटा शव अझै नभेटिएको उनले बताए। ४ जनाको शव अझै मिसिङ छ, खोजीका लागि सम्बन्धित टीम खटिराखेको छ, केसीले भने।
पोखरा र त्यस आसपासका व्यक्तिहरूको शव पोखरामै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी छ।
काठमाडौंबाट बुझ्ने र विदेश पठाउनुपर्ने शव भने पोस्टमार्टम नगरी काठमाडौं पठाउने तयारी भएको केसीले बताए।सकेसम्म आजै काठमाडौं पठाउन खोजेको हो, हेरौं कति सम्भव हुन्छ, केसीले भने।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको ९ एनएसी एटीआर ७२ विमान आइतवार सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए। त्यसमध्ये ६८ जनाको शव भेटिएको छ। बाँकी ४ जनाको खोजी कार्य जारी छ।