पाल्पा– पाल्पामा चालु आर्थिक वर्षको सुरुआती दुई महिनामै २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। साउन र भदौमा पुष्टि भएको यो संख्या अघिल्ला वर्षको तुलनामा पनि उल्लेख्य भएकाले जिल्लामा डेंगुको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २५५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्ला वर्षहरूमा पाल्पामा डेंगु संक्रमणको संख्या घटबढ हुँदै आएको भए पनि यस वर्ष सुरुआती महिनामै संक्रमितको संख्या उल्लेख्य देखिएको छ।
पाल्पामा आर्थिक वर्ष २०८२/८३ मा ४३२, २०८१/८२ मा ५१०, २०८०/८१ मा ६८६, २०७९/८० मा २५० र २०७८/७९ मा २४ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्यकर्मीका अनुसार वर्षायाममा विभिन्न स्थानमा पानी जम्ने भएकाले डेंगु सार्ने एडिस जातको लामखुट्टेका लागि प्रजननको अनुकूल वातावरण बन्छ। घर तथा कार्यालय वरिपरि रहेका टायर, गमला, टिनका डब्बा, कुलर तथा पानी जम्न सक्ने अन्य भाँडाकुँडा लामखुट्टेको प्रजननस्थल बन्ने गरेका छन्।
ल्याब टेक्निसियन अधिकृत भट्टराईले जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको परिवर्तनसँगै डेंगु परीक्षणको पहुँच विस्तार भएकाले पनि संक्रमितको संख्या बढी देखिएको बताए। पछिल्लो समय परीक्षण सहज भएपछि संक्रमण पहिचान हुने क्रम बढेको उनको भनाइ छ।
पाल्पाका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीमा डेंगु संक्रमण पुष्टि भएको छ। निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत डेंगु परीक्षण हुने गरेको छ।
स्वास्थ्य कार्यालयले संक्रमण बढ्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सचेतना र अभिमुखीकरण कार्यक्रमलाई तीव्रता दिएको छ। सरोकारवाला निकायसँगको कार्यक्रममा घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लामखुट्टेको नियन्त्रण गर्न सके डेंगुलगायतका रोगबाट बच्न सकिने भन्दै पानी जम्ने स्थान नष्ट गर्न आग्रह गरे।
उनले लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र सुत्ने र घरका झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली प्रयोग गर्न सुझाव दिए। घर, कार्यालय, विद्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहावट भए तत्काल मर्मत गर्न पनि उनले आग्रह गरे।
गमलाका प्लेट, फुलदानी, कुलरलगायत पानी जम्न सक्ने सामग्रीको पानी कम्तीमा सातामा एकपटक फेर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ। लार्भाकै अवस्थामा लामखुट्टे नष्ट गर्न सके संक्रमण फैलिने जोखिम घटाउन सकिने स्वास्थ्यकर्मीको भनाइ छ।