विपद् कोषको रकम तत्काल प्रभावितसम्म पुर्‍याउन सरकारको जोड, पाँच कार्यदलले पुनर्निर्माण थाल्ने - Chaitanya News
  • 2026-08-31
  • 17:18:09
  • सोमबार,भाद्र १५, २०८३
  • विपद् कोषको रकम तत्काल प्रभावितसम्म पुर्‍याउन सरकारको जोड, पाँच कार्यदलले पुनर्निर्माण थाल्ने

    विपद् कोषको रकम तत्काल प्रभावितसम्म पुर्‍याउन सरकारको जोड, पाँच कार्यदलले पुनर्निर्माण थाल्ने

    काठमाडौँ– भोटेकोशी विपद्पछि राहत तथा पुनर्निर्माणका लागि छुट्याइएको रकम प्रभावित नागरिकसम्म पुर्‍याउन सरकारले कोष परिचालनमा देखिएको ढिलाइ हटाउने भएको छ । पुनर्निर्माणलाई तीव्रता दिन सरकारले पाँचवटा छुट्टाछुट्टै कार्यदल गठन गरेर तत्काल काम अघि बढाउने तयारी गरेको छ ।

    सोमबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापन कोषमा रकम जम्मा भएर पनि प्रभावित क्षेत्रमा अभाव देखिन नहुने बताएका हुन् ।

    उनले कर्मचारीतान्त्रिक प्रक्रियाका कारण कोषको रकम परिचालनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै कानुनी दायराभित्र रहेर स्थानीय तहमा रकम हस्तान्तरणको प्रक्रिया सहज र द्रुत बनाउनुपर्नेमा जोड दिए ।

    ‘राहत र उद्धार कोषमा पैसा थुप्रिने तर प्रभावित क्षेत्रमा अभाव हुने स्थिति अन्त्य हुनुपर्छ,’ मन्त्री वाग्लेले भने, ‘फण्ड मोबिलाइजेसनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्य सचिवलाई आवश्यक समन्वय गर्न अनुरोध गरिसकिएको छ।’

    भोटेकोशी विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा अन्य समस्या समाधानका लागि भौतिक पूर्वाधार, सडक तथा पुल, खानेपानी तथा सरसफाइ र सुरुङमार्ग उद्धारलगायत क्षेत्रमा पाँचवटा कार्यदल गठन गरिने उनले जानकारी दिए ।

    सुरुङमार्गमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने भएको छ ।

    सरकारले विपद्पछिको आवश्यकता आँकलन (पीडीएनए) समेत दुई चरणमा गर्ने भएको छ । पहिलो चरणमा सार्वजनिक तथा निजी क्षेत्रको क्षति र नोक्सानीको विवरण संकलन गरिनेछ भने दोस्रो चरणमा भविष्यको विकास रणनीति र पुनर्स्थापनाको खाका तयार पारिने मन्त्री वाग्लेले बताए ।

    उनले पुनर्निर्माण गर्दा भौतिक संरचना निर्माणमा मात्र केन्द्रित नभई स्थानीय समुदायको आवश्यकता र सामाजिक पक्षलाई समेत ध्यान दिनुपर्ने बताए । गोरखा भूकम्पपछि लाप्राकमा निर्माण गरिएको एकीकृत बस्तीको उदाहरण दिँदै उनले स्थानीयको आवश्यकता नबुझी बनाइएका संरचना प्रयोगविहीन हुन सक्ने जोखिम औँल्याए ।

    पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण गठन गर्ने वा विद्यमान कानुनी संरचनाबाटै काम अघि बढाउने विषयमा थप छलफल गरिने भएको छ । आवश्यक परे कानुनी जटिलता फुकाउन ऐन संशोधनको प्रक्रियामा समेत जान सकिने मन्त्री वाग्लेले बताए ।

    पर्यटन क्षेत्रमा भएको क्षति तथा पदयात्रा क्षेत्रमा होटल र लजले व्यहोरेको व्यावसायिक नोक्सानीलाई समेत ‘लस’ अन्तर्गत समेटिने उनले स्पष्ट पारे । सरकारले प्रभावित व्यवसायको पुनरुत्थानका लागि छिट्टै ‘बिजनेस रिकभरी प्याकेज’ ल्याउने तयारी गरेको छ ।

    मन्त्री वाग्लेले विपद्का बेला नेपाली सेनाले गरेको उद्धारको प्रशंसा गर्दै करिब चार हजार मानिसको सफल एयरलिफ्ट हुनु सकारात्मक उपलब्धि भएको बताए । जलवायु परिवर्तनका कारण बढिरहेका यस्ता विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणसहित उठाउने सरकारको तयारी रहेको उनको भनाइ छ ।

    सीमापार समन्वय र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत अर्थमन्त्री वाग्लेले जोड दिए ।