सुदूरपश्चिममा सभामुख चयनका लागि आज पुनः मतदान हुँदै - Chaitanya News
  • 2026-04-30
  • 00:34:10
  • बुधबार,बैशाख १६, २०८३
  • सुदूरपश्चिममा सभामुख चयनका लागि आज पुनः मतदान हुँदै

    सुदूरपश्चिममा सभामुख चयनका लागि आज पुनः मतदान हुँदै

    काठमाडौं  – सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनका लागि निर्वाचन हुने भएको छ । यसअघि दुई पटकसम्म निर्वाचन हुँदा कसैको पनि बहुमत आउन सकेको थिएन ।सभामुख चयनका लागि आज बिहान प्रदेशसभा बैठक बस्दैछ ।

    यसअघि पुस २८ र ३० गते भएको निर्वाचनमा सभामुखका उम्मेदवार रहेका माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल दुवैले बहुमत ल्याउन सकेनन् । दुई पटक भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि संवैधानिक संकट उत्पन्न हुन सक्ने अवस्था आएकाले आज पुनः मतदान हुन लागेको हो ।

    पोखरामा भएको विमान दुर्घटनाका कारण आज देशभर शोक बिदा दिइएको छ । यद्यपि, यस प्रदेशमा भने संवैधानिक जटिलता उत्पन्न हुने भएपछि सभामुख चयनका लागि प्रदेशसभा बैठक बस्न लागेको हो ।

    ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामखु निवार्चित हुन २७ मत आवश्यक पर्दछ । तर, यस प्रदेशमा सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन नसकेका हुन् ।

    आजको बैठकमा पनि नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेको खण्डमा सभामुख चयन नहुने अवस्था छ । पार्टीले राखेको मागका विषयमा सरकार गम्भीर नभएको भन्दै नागरिक उन्मुक्तिले मतदानमा सहभागी नभएको जनाएको छ । यद्यपि, आज भने पार्टीले कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन सक्ने जानकारी दिएको छ ।

    संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट प्रदेश सभामुख र उपसभामुख चयन गर्नु पर्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो । जसअनुसार आज सभामुख चयनको अन्तिम दिन रहेको छ ।