काठमाडौँ– सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएका वरिष्ठ सहसचिव श्रीकृष्ण नेपालको सरकारी सेवाको आज अन्तिम दिन हो। उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाशमा जाने अवस्थामा रहेका नेपालको सचिव बन्ने वा सहसचिवबाटै अवकाशमा जाने भन्ने टुंगो आज बस्ने मन्त्रिपरिषद्को निर्णयमा निर्भर देखिएको छ।
सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र विनोदबहादुर कुँवरलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको छ। वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका नेपाललाई आजै सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरे मात्र उनी विशिष्ट श्रेणीमा पुग्नेछन्।
तर मन्त्रिपरिषद् बैठक आज बस्ने वा नबस्ने अझै निश्चित छैन। पछिल्लो विपद्का कारण सरकारका मन्त्रीहरू उद्धार, राहत तथा व्यवस्थापनका काममा विभिन्न क्षेत्रमा खटिएका छन्। यही कारण नियमित मन्त्रिपरिषद् बैठकको समयसमेत अनिश्चित बनेको छ।
नेपालको हकमा समयसीमा भने निकै साँघुरो छ। आज मन्त्रिपरिषद् बसेर बढुवाको निर्णय गरे उनी सचिव बन्नेछन्। तर सचिव बने पनि उनको पदावधि आज राति १२ बजेसम्म मात्रै रहनेछ। मन्त्रिपरिषद्ले आज निर्णय नगरे उनी भोलिदेखि ५८ वर्षे उमेर हदका कारण निजामती सेवाबाट अनिवार्य अवकाशमा जानेछन्।
यसले सचिव बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका नेपालका लागि वरिष्ठता र सेवा अवधिबीचको असामान्य अवस्था सिर्जना गरेको छ। सामान्य अवस्थामा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवार सचिव बन्ने सम्भावना बलियो हुने भए पनि नेपालको हकमा भने बाँकी रहेको सेवा अवधि नै मुख्य विषय बनेको छ।
नेपाललाई बढुवा नगरी उनी अनिवार्य अवकाशमा गएमा त्यसपछि सिफारिसमा रहेका नारायणप्रसाद भट्ट र विनोदबहादुर कुँवरमध्येबाट सचिव चयन गर्ने बाटो खुल्नेछ। त्यस अवस्थामा मन्त्रिपरिषद्ले वरिष्ठता, सेवा अवधि र प्रचलित प्रक्रियाका आधारमा निर्णय लिनुपर्नेछ।
यसअघि पनि सचिव बढुवा सिफारिसको क्रम पटक–पटक परिवर्तन भएको थियो। गत २८ साउनमा रोकिएको प्रक्रिया पुनः अघि बढ्दा कमलप्रसाद भट्टराई पहिलो, इन्दु घिमिरे दोस्रो र श्रीकृष्ण नेपाल तेस्रो नम्बरमा सिफारिस भएका थिए। त्यसपछि भट्टराई सचिवमा बढुवा भएपछि रिक्त पदमा भएको अर्को सिफारिसमा इन्दु घिमिरे पहिलो, नेपाल दोस्रो र नारायणप्रसाद भट्ट तेस्रो नम्बरमा परेका थिए।
गत १२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गरेपछि नेपाल वरिष्ठताको क्रममा पहिलो नम्बरमा उक्लिएका हुन्। अहिले उनै नेपालको सेवा अवधि सकिन लाग्दा सचिव बढुवाको निर्णय थप पेचिलो बनेको हो।
सरकारले पछिल्लो समय मन्त्रालय संख्या, दरबन्दी तथा उच्च तहका पद पुनरावलोकनको विषय अघि बढाएपछि सचिव बढुवा प्रक्रिया केही समय प्रभावित भएको थियो। प्रक्रिया पुनः सञ्चालन भएपछि दुई जना सचिवमा बढुवा भइसकेका छन् भने रिक्त पदमा नयाँ सिफारिस अघि बढाइएको हो।
अब पछिल्लो सिफारिसमा पहिलो नम्बरमा रहेका नेपालको भविष्य आजै तय हुनेछ। मन्त्रिपरिषद् बैठक बस्छ कि बस्दैन, बसेमा नेपालको बढुवा प्रस्तावमा के निर्णय हुन्छ भन्ने कुराले उनी सचिव बनेर सेवा निवृत्त हुन्छन् कि सहसचिवकै हैसियतमा अवकाश लिन्छन् भन्ने निर्धारण गर्नेछ।