काठमाडौँ– चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई(२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन्।
राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र संघीय संसद्का सदस्य धर्म केसीको उपस्थिति रहेको थियो।
सो अवसरमा राजदूत माओमिङले राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुका साथै नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरे । राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणहरू समेत नेपाल आइपुगेका छन्। चीनको चेङ्दु सुआन्लियु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमानहरू करिब तीन घण्टाको उडानपछि काठमाडौँ अवतरण गरेका थिए।
प्राप्त सामग्रीहरूमा पाल, कम्मल, स्लिपिङ ब्याग, तयारी खाजा र प्राथमिक उपचार किट गरी कुल १३ हजार २ सय थान सामग्रीहरू रहेका छन्, जसको कुल वजन ५० टन रहेको छ ।