काठमाडौँ– भीषण बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा ७५२ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोमा परेर मृत्यु भएकाको शव फेला पर्ने क्रम जारी रहेको जनाएको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै मृत्यु चितवनमा भएको छ। त्यहाँ २५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ तथा रसुवामा १३ जनाको मृत्यु पुष्टि भएको छ।
विपद्मा परी २३९ जना घाइते भएका छन्। उनीहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना छन्। ५९२ विदेशी नागरिक र उनीहरूसँग रहेका १२७ नेपाली नागरिकको अवस्थासमेत अज्ञात छ। स्थानीयतर्फ रसुवाका ५६२ र नुवाकोटका ११५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
उद्धारमा खटिएका सुरक्षाकर्मीमध्ये पनि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना अझै सम्पर्कमा आएका छैनन्।
यसबीच विपद् प्रभावित क्षेत्रबाट ८ हजार ७३० जनाको जीवित उद्धार गरिएको छ। सशस्त्र प्रहरीले ३५७, नेपाली सेनाले २ हजार ९७४ र नेपाल प्रहरीले २ हजार ६९९ जनालाई उद्धार गरेका छन्।
जलविद्युत् आयोजनाका सुरुङमा फसेका २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हवाई उद्धार अभियानबाट मात्रै २ हजार ८४५ नेपाली र २३६ विदेशी नागरिकलाई सुरक्षित स्थानमा ल्याइएको प्राधिकरणले जनाएको छ।
खोज तथा उद्धार अभियानलाई तीव्रता दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका ८ हजार ३१९, नेपाल प्रहरीका ७ हजार २९३ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।
