आफन्त गुमाएकाको मानसिक स्वास्थ्यलाई राहतसँगै प्राथमिकता दिनुपर्छ : मन्त्री वादी - Chaitanya News
  • 2026-08-30
  • 15:13:10
  • आइतबार,भाद्र १४, २०८३
  • आफन्त गुमाएकाको मानसिक स्वास्थ्यलाई राहतसँगै प्राथमिकता दिनुपर्छ : मन्त्री वादी

    आफन्त गुमाएकाको मानसिक स्वास्थ्यलाई राहतसँगै प्राथमिकता दिनुपर्छ : मन्त्री वादी

    काठमाडौँ– महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्मा आफन्त गुमाएका व्यक्तिको मानसिक स्वास्थ्य तथा सामाजिक पुनःस्थापनालाई राहत र उद्धारसँगै प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।

    मन्त्रालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा मन्त्री वादीले विपद्का कारण परिवारका सदस्य गुमाएका व्यक्तिमा शोक र मानसिक तनाव बढ्न सक्ने भन्दै उनीहरूलाई आवश्यक मनोसामाजिक परामर्श तथा सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।

    विशेषगरी अभिभावक गुमाएका बालबालिका थप जोखिममा पर्न सक्ने भएकाले उनीहरूको पहिचान, संरक्षण र सुरक्षित व्यवस्थापनमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ। विपद्पछि बालबालिका हराउने, बेवारिसे हुने वा अन्य जोखिममा पर्ने सम्भावनाप्रति राज्यका संयन्त्र सचेत रहनुपर्ने उनले बताइन्।

    मन्त्री वादीले विपद्को समयमा महिलामाथि हुन सक्ने हिंसा रोकथाम र प्रभावित महिलाको सुरक्षाका लागि पनि मन्त्रालय संवेदनशील रहेको स्पष्ट पारिन्। रेडक्रसका संयन्त्रले अभिभावकविहीन बालबालिका तथा हिंसाको जोखिममा रहेका महिलाको पहिचान र संरक्षणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताइन्।

    नेपाल रेडक्रस सोसाइटीले विपद् सुरु भएदेखि नै प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मन्त्री वादीले तत्कालीन आवश्यकताअनुसार परिचालन भएको रेडक्रसको भूमिकाको सराहना गरिन्।

    मन्त्रालयले विपद् प्रभावित नागरिकका आवश्यकताअनुसार विभिन्न संघसंस्थासँग समन्वय गरेर काम गरिरहेको जानकारी दिँदै उनले संकटबाट उत्पन्न समस्या समाधानका लागि राज्य संयन्त्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताइन्।